काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य सेवालाई राज्यको परोपकार नभई नागरिकको सुरक्षाको रूपमा स्थापित गर्ने संकल्प गरेका छन् । ‘स्वास्थ्य दान होइन, सुरक्षा हो’ भन्ने मूल मन्त्रका साथ उनले स्वास्थ्य बिमा कार्यक्रमलाई आमूल सुधार गरी प्रत्येक नेपालीलाई समेट्ने खाका प्रस्तुत गरेका हो ।
सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका सभापति थापाले भने, ‘नेपाली कांग्रेस बदलिनेछ र बदलिएको कांग्रेसले देश बदल्नेछ । त्यो बदलावको सुरुवात नागरिकको स्वास्थ्य सुरक्षाबाट हुनेछ ।’ उनले पैसा नभएकै कारण उपचार बिचमै छोड्नुपर्ने र उपचार गर्दागर्दै घरखेत सकिएर सडकमा पुग्नुपर्ने विद्यमान पीडादायी अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार बिरामीको खल्तीबाट हुने खर्च करिब २० प्रतिशत हुनुपर्नेमा नेपालमा ५७ प्रतिशतभन्दा बढी रहेको तथ्य उल्लेख गर्दै थापाले यसलाई घटाउनु राज्यको मुख्य दायित्व भएको बताए । उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाएर यो खर्च न्यूनीकरण गर्ने योजना अघि सारेका छन् । जसमा :-
अनिवार्य र सर्वव्यापी बिमा: औपचारिक क्षेत्रबाट सुरु गरेर प्रत्येक नेपाली नागरिकलाई अनिवार्य रूपमा बिमाको दायरामा ल्याउने। प्रिमियम तिर्न नसक्ने अति विपन्न, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको प्रिमियम राज्यले व्यहोर्ने ।
दिगो आर्थिक स्रोत: रक्सी, चुरोट जस्ता स्वास्थ्यका लागि हानिकारक वस्तुमा विशेष कर लगाएर त्यसबाट संकलित रकम स्वास्थ्य बिमामा खर्च गर्ने ।
एकीकृत स्वास्थ्य प्रणाली: तीनै तहका सरकार (स्थानीय, प्रदेश र सङ्घ) बाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूलाई छरपस्ट हुन नदिई बिमा अन्तर्गत एकीकृत गर्ने ।
सुशासन र डिजिटल प्रणाली: बिमा बोर्डलाई बलियो बनाउने, दाबी भुक्तानीलाई समयमै गर्ने र ‘रियल टाइम डिजिटल सिस्टम’ मार्फत पारदर्शिता सुनिश्चित गरी चुहावट रोक्ने ।
निर्वाचनपछिको पाँच वर्षभित्र स्वास्थ्य बिमालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याई ‘नेगेटिभ लिस्ट’ बाहेकका सबै उपचार सेवा बिमामार्फत निःशुल्क उपलब्ध गराउने थापाको योजना छ । ‘हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको आयोजना बनाउनेछौँ,’ उनले भने,’ त्यसपछि कुनै पनि नेपालीले उपचारका लागि घरखेत बेच्नुपर्ने छैन ।’


प्रतिक्रिया