काठमाडौं । आइसीसी पुरुष टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डसँग ४ रनले पराजित भयो । मुम्बईस्थित वानखेडे मैदानमा सम्पन्न खेलमा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पहिल्याउने क्रममा नेपालले सबै ओभर खेल्दा ६ विकेटको नाक्सानमा १८० रन मात्र जोड्न सक्यो । नेपालका लागि कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९–३९ रनको योगदान दिए ।
दिपेन्द्रसिह ऐरले ४४ र ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले २९ रनको योगदान दिएका थिए । ऐतिहासिक जीत नजिक पुगेको नेपाली टोलीको फिनिसिङ राम्रो नहुँदा पराजय व्यहोर्नु परेको थियो । अन्तिम ओभरमा नेपाललाई जम्मा १० रन चाहिएको थियो । उक्त ओभरमा नेपालले ५ रन मात्र जोड्न सक्यो ।
इग्ल्याण्डका लागि कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका बेथेलले ४ छक्का र ४ चौका प्रहार गर्दै ५५ रन जोडे । ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए । यस्तै, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिए । १८ बल खेलेका उनले ४ छक्का प्रहार गर्दै इंग्ल्यान्डको इनिङ्स उकासे । जोस बटलरले २६ रन बनाए ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई-दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक-एक सफलता हात पारे । विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।


प्रतिक्रिया