बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक

बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक



काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।

यसमा सरकारले चालु आर्थिक वर्षमा हुने बजेट खर्चको अनुमान संशोधन गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेटमा उल्लेखित आकारभन्दा १४.०४ प्रतिशतले खर्च घट्ने अनुमान गरेको हो ।

गत जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । योमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको थियो ।

संशोधित बजेट अनुसार चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ०४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ जुन सुरुवाती बजेटको तुलनामा क्रमशः ९५.३४ प्रतिशत, ५९.६५ प्रतिशत र ८५.०२ प्रतिशत हो ।