खाना पकाउने ग्यास सहज नहुँदा उपभोक्तालाई सास्ती

खाना पकाउने ग्यास सहज नहुँदा उपभोक्तालाई सास्ती



काठमाडौं । खाना पकाउने ग्यास सहज नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । माघको पहिलो हप्तायता बजारमा ग्यास सहज छैन ।

अभाव भएको महिना दिन पुग्नै लाग्दा पनि बजारमा ग्यास पाउन सहज हुन सकेको छैन ।

आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गरिरहेको जनाएको छ ।

विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ ।विभागले ठूला ग्यासको उत्पादन कम्पनीलाई पनि आवश्यक निर्देशन दिएको छ ।

काठमाण्डौ उपत्यकाका उपलब्ध ग्यास बोटलिङ उद्योगको अनुमगनको क्रममा उपभोक्ताको माग अनुसारको उत्पादन र वितरण बढाउन निर्देशन दिएको छ । उद्योगहरुलाई पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन क्षमता बढाउनै पर्ने विभागको निर्देशन दिएको छ ।

खाना पकाउने (एलपी) ग्यासको वितरण गर्ने डिलर, रिटेलर र सप्लायर्स कम्पनीले उपभोक्ताको मागको प्रभावकारी रेकर्ड राखी ग्यासको अनावश्यक सञ्चय नहुने गरी समन्यायिक वितरण गर्नुपर्नेछ ।

यस्तै, उपभोक्ता र व्यावसायिक प्रतिष्ठानले अनावश्यक सञ्चय नगरी आफूलाई आवश्यक परिमाणमा मात्र खरिद गरी सहयोग गर्न विभागले आग्रह गरेको छ ।