समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन

समस्याग्रस्त वन्यजन्तु नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन



काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)ले समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्र्याक गर्न र नियन्त्रणमा लिन प्राविधिक टोली परिचालन गरेको छ ।

एनटिएनसीले अहिले तीन जिल्लाका विभिन्न क्षेत्रमा समस्याग्रस्त वन्यजन्तुको पहिचान गरेर ट्रयाक गर्न र नियन्त्रणमा लिन प्रत्यक्ष रूपमा टोली खटाएको सदस्य सचिव डा नरेश सुवेदीले जानकारी दिए ।

“कोषको बर्दियास्थित कार्यालयबाट खटिएका उद्धार टोली कर्णाली र लुम्बिनी प्रदेशमा छन्”, उनले भने ।

उद्धार टोली बर्दियाको बारबर्दिया र गुलरिया क्षेत्र, सल्यानको कालिमाटी र दैलेखको भैरवी गाउँपालिकामा केन्द्रीत छन् ।

वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा टोलीले काम गरिरहेको उनले बताए ।

कोषका प्राविधिकले २४ सै घण्टा समस्याग्रस्त वन्यजन्तुको निगरानी गरिरहेका छन् भने सल्यानमा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन तीन ठाउँमा ‘बेट’ राखिएको छ ।

बर्दियामा चितुवा नियन्त्रणका लागि उद्धार खोर तयारी अवस्थामा राखिएको छ । दैलेखमा बँदेलको द्वन्द्व व्यवस्थापनका लागि प्रयास भइरहेको सदस्य सचिव डा सुवेदीले बताए ।

केही समययता सल्यानमा बाघ र दैलेखमा बँदेलको आक्रमणबाट मानवीय क्षति र घाइते भएका घटना सार्वजनिक भएपछि यो रेस्क्यु अपरेसन सुरु भएको हो ।

बारबर्दियामा चितुवाले पशुचौपाया र स्थानीयमाथि आक्रमण गरेको खबर आउन थालेपछि वन मन्त्रालय र निकुञ्ज प्रशासनसँगको समन्वयमा कोषको टोली खटिरहेको छ ।

दुई महिनायता मात्रै प्रविधिक टोलीले टीकापुर र बलापुरबाट दुईवटा चितुवाको उद्धार र एउटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएको छ ।