टर्कीको संसद्‌मा सांसदबीच कुटाकुट

टर्कीको संसद्‌मा सांसदबीच कुटाकुट



काठमाडौं । टर्कीको संसद्‌मा बुधबार सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ ।

विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा र कुटपिट भएको हो ।

विपक्षी सांसदले राष्ट्रपति रेसेप तैयप एर्दोगानले न्याय मन्त्रालयको जिम्मेवारी दिएका विवादास्पद इस्तानबुलका मुख्य अभियोजक अकिन गुरलेकलाई संसद्‌मा शपथग्रहण गर्नबाट रोक्ने प्रयास गरेका थिए ।

तनाव बढ्दै जाँदा सांसदहरूले एकार्कालाई धकेलिरहेको देखिएको थियो । केहीले मुक्का पनि हानेका थिए ।

इस्तानबुलका मुख्य अभियोजकका रूपमा गुरलेकले मुख्य विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)का धेरै सदस्यमाथि मुद्दाको नेतृत्व गरेका थिए । ती मुद्दालाई विपक्षीले राजनीतिक प्रेरित भन्दै लामो समयदेखि निन्दा गर्दै आएका छन् ।

पूर्वअभियोजक गुरलेकलाई पछि सत्तारूढ दलका सांसदले घेरेर शपथ गराए ।एर्दोगानले पूर्वी प्रान्त एर्जुरुमका गभर्नर मुस्तफा चिफ्त्चीलाई गृहमन्त्री नियुक्त गरेका छन् ।

सीएचपी नेतृत्वबाट सञ्चालित नगरपालिकाका सयौँ अधिकारीहरूलाई भ्रष्टाचार अनुसन्धानमा पक्राउ गरिएको छ । तीमध्ये इस्तानबुलका मेयर एकरेम इमामोग्लु पनि छन्, जसलाई एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ ।

इमामोग्लुलाई गत वर्ष पक्राउ गरिएको थियो ।

सरकारले न्यायपालिकाले स्वतन्त्र रूपमा काम गर्ने जिकिर गर्दै आएको छ । हालको मन्त्रिपरिषद् फेरबदलको कुनै आधिकारिक कारण दिइएको छैन । बाहिरिएका मन्त्रीहरूले जिम्मेवारीबाट मुक्त हुन अनुरोध गरिएको जनाएको सरकारी राजपत्रमा उल्लेख छ ।

टर्कीमा सम्भावित संवैधानिक सुधारको बहस चलिरहेका बेला यी नियुक्ति गरिएको छ । दशकौँदेखिको द्वन्द्व अन्त्य गर्न मिलिटेन्ट कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)सँग शान्तिको पहल अघि बढाइएको छ ।