दौडधुप स्थगन गरेर काठमाडौं फर्किए ओली

दौडधुप स्थगन गरेर काठमाडौं फर्किए ओली


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेर काठमाडौँ फर्किएका छन् । पार्टीको प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने तयारीका लागि ओली राजधानी फर्किएका बताइएको छ ।

झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका ओलीले निर्वाचन क्षेत्रमा पर्ने कमल, गौरादह र गौरीगन्ज पालिकाका एक सयभन्दा बढी स्थानहरूमा मतदाताहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए । जहाँ प्रत्यक्ष रूपमा २५ देखि ३० हजार मतदातालाई ओलीले भेटेका थिए ।

ओलीले स्थानीयका गुनासा र मागहरूलाई सुनेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा जिताउन आग्रह गरेको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले बताए । ओलीले गरेको यस क्षेत्रको विकास र मायालाई स्थानीयले खुलेर प्रशंसा गरेको दाहालको दाबी छ ।

ओलीको प्रत्यक्ष भेटघाट र घरदैलोले पार्टीका नेता कार्यकर्तादेखि लिएर आम मतदाताहरूमा नयाँ प्रकारको उत्साह देखिएको उनको भनाई छ । यो पटक ओलीले आफ्नो निर्वाचन क्षेत्रका बिरामी तथा हिँडडुल गर्न नसक्ने कतिपय मतदाताहरूको घरमा नै पुगेर हौसला समेत दिएको उनले जानकारी दिए ।

ओलीले अझै यस क्षेत्रमा धेरै योजनाहरू अलपत्र रहेकाले त्यसलाई पुरा गर्नका लागि आफू लाग्ने प्रतिबद्धता जनाएका थिए । औद्योगिक पार्क, रंगशाला लगायतका ठुला योजनाहरूको विषयमा स्थानीय मतदाताहरूले प्रश्न तेर्स्याएका थिए । ओलीले आफूले विगतमा गरेका बाचा र प्रतिबद्धतालाई पूर्णता दिने आश्वासन दिएका छन् ।

ओली यसैसाता पुनः दमक जाने उनको सचिवालयले जनाएको छ । अहिलेलाई प्रत्यक्ष उम्मेदवार सहितको भेटघाट स्थगन भएको हो । पार्टीको तर्फबाट घरदैलो र भेटघाट कार्यक्रम जारी रहने नेकपा एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग नै मुख्य प्रतिस्पर्धा हुने देखेपछि ओलीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै आएका छन् । साहको चुनावी अभियान यहाँ आक्रामक रूपमा चल्दै आएको छ । यस निर्वाचन क्षेत्रमा ओली कि बालेन भनेर चर्चा चलाइएको छ ।

नेपाली काँग्रेसबाट मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ, श्रम सस्कृती पार्टीका समीर तामाङ लगायतका उम्मेदवारहरू घरदैलो र मतदाता फकाउने अभियानमा तीव्र रूपमा लागिरहेका छन् । ओली र बालेनको चर्चाले अन्य उम्मेदवारहरू भने ओझेलमा पर्दै आएका छन् ।