राजविराज । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै राजविराजस्थित कारागार कार्यालय सप्तरीमा विशेष सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले त्यहाँ नेपाली सेनाको एक टोली परिचालन गरिएको छ ।
नेपाली सेनाअन्तर्गत बरख गण राजविराजका गणपति सोबितबहादुर चन्दका अनुसार कारागार सुरक्षाका लागि अधिकृत दर्जाको कमाण्डमा ३५ जना नेपाली सेना परिचालन गरिएका छन् । बिहीबारदेखि परिचालन गरिएको उक्त टोली निर्वाचन अवधिभर कारागार परिसरमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सक्रिय रहनेछ ।
गणपति चन्दले सम्भावित जोखिम न्यूनीकरण गर्दै जिल्लावासीलाई सुरक्षित रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सहज वातावरण सिर्जना गर्नु सेनाको मुख्य जिम्मेवारी रहेको जानकारी दिए । निर्वाचन अवधिभर सुरक्षा निकायबिच आवश्यक समन्वयसमेत हुने जनाइएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन एकसाता अघि सप्तरीभरि नेपाली सेना परिचालन गरिसकेको छ ।


प्रतिक्रिया