काठमाडौं । सुनको मूल्य बढेर साढे तीन लाखनजिक पुगेपछि बजारमा माग नहुँदा सुनको कारोबार ठप्प छ । मुख्य बजारका सुन पसलमा फाट्टफुट्ट कारोबार भए पनि अन्य पसलमा भने कारोबार ठप्प छ । मूल्य बढ्दा सुनको कारोबार ८० प्रतिशतले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहेको सिजन भए पनि बजारमा सुनको २० प्रतिशतभन्दा बढी कारोबार हुन सकेको छैन । महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले मूल्य बढेकाले सुनको माग नै नहुँदा कारोबार हुन नसकेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा सुनको मूल्य बढ्ने घट्ने अनुमान गर्न कठिन भएको उनले जानकारी दिए । निरन्तर बढेको सुनको मूल्यले सुनचाँदी व्यवसायमा ठुलो असर परेको उनको भनाइ छ । सुनको मूल्य तोलामा चार लाख पुग्यो भने धेरै सुनचाँदी पसल बन्द हुने अवस्थामा पुग्ने उनको भनाइ छ ।
काठमाडौंको नयाँसडकस्थित लक्ष्मी गोल्ड अर्नामेन्टका सञ्चालक लक्ष्मी महर्जनले सुनको कारोबार ठप्प भएको बताए । “उपभोक्तासँग क्रयशक्ति नहुँदा माग छैन,” उनले भने, “यसरी नै मूल्य बढ्दै जाने हो भने सुनचाँदी व्यवसाय सञ्चालन गर्नै नसक्ने अवस्था हुन्छ ।” सुनको व्यापार नहुँदा पसलको भाडा र कर्मचारीलाई तलब खुवाउनसमेत समस्या पर्न थालेको उनको भनाइ छ ।
देशभर २२ हजार सुनचाँदी पसल सञ्चालनमा छन् । सुनको कारोबार नभएपछि सुनचाँदी व्यवसायमा प्रत्यक्ष असर परेको छ । सुनचाँदी व्यवसायमा काम गर्ने कर्मचारी र कालिगड साढे दुई लाख छन् । सुनको कारोबार घटेर २० प्रतिशतमा झर्दा सुनचाँदी व्यवसायमा काम गर्नेलाई ठुलो असर परेको व्यवसायीको भनाइ छ ।


प्रतिक्रिया