काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्रालयका सचिव केशवकुमार शर्मा र यातायात व्यवस्था विभागका महानिर्देशक डा. विजय जैसीसहितको टोलीले शुक्रबार उक्त खण्डको स्थलगत निरीक्षण गरेको हो ।
मन्त्री चौलागाईंले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता दिई स्तरोन्नति सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
सडकको दुरावस्थाका कारण जनताले भोग्दै आएका सास्तीप्रति चिन्ता व्यक्त गर्दै उनले जतिसक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिए ।
मन्त्री चौलागाईंले पश्चिम नेपाललाई जोड्ने यो महत्त्वपूर्ण सडकखण्डको आवागमन सहज बनाउन समयमै निर्माण पूरा गर्न आवश्यक तदारुकतामा जोड दिए ।
निरीक्षणका क्रममा उनले चिनियाँ ठेकेदार, कोरियन कन्सल्ट्यान्ट, साइट म्यानेजर तथा इन्जिनियरहरूसँग छलफल गर्दै आवश्यक सहजीकरण र प्रगति अनुगमनलाई प्रभावकारी बनाइने बताए ।
हाल उक्त सडकखण्डको ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया