काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१, बाउनडाँडामा गएराति भएको मिनी ट्रक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा बोकेर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-००४ क ६२२८ नम्बरको मिनी ट्रक सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दुर्घटनामा परी दुई जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापा रहेका छन् । उनीहरू दुवैको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्य दुई पुरुषलाई तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । अस्पतालमा ज्यान गुमाउने अन्दाजी ४० र ५० वर्षका दुई व्यक्तिको हालसम्म सनाखत हुन सकेको छैन । उनीहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
गएराति ९ बजेको समयमा भएको उक्त दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । तीव्र गति वा प्राविधिक गडबडीका कारण ट्रक अनियन्त्रित भई भिरबाट खसेको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया