इंग्ल्याण्ड र स्कटल्याण्डबीच रोचक भिड्न्त आज

इंग्ल्याण्ड र स्कटल्याण्डबीच रोचक भिड्न्त आज


ग्लोब नेपाल
0
Shares

मुम्बइ । आइसिसी टी-२० विश्वकप अन्तर्गत आज विभिन्न स्थानमा तीन रोमाञ्चक खेलहरू हुँदैछन् । आज हुने खेलहरूमा आयरल्याण्ड र ओमान, इंग्ल्याण्ड र स्कटल्याण्ड तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिका आमनेसामने हुने तालिका रहेको छ।

नेपाली क्रिकेट समर्थकहरूका लागि आजको दोस्रो खेल विशेष चासोको विषय बनेको छ । नेपाल रहेको ‘समूह सी’ मा आबद्ध दुई देश इंग्ल्याण्ड र स्कटल्याण्ड आज दिउँसो ३:१५ बजे कोलकातास्थित प्रसिद्ध इडेन गार्डेनमा भिड्दैछन् ।

प्रतियोगितामा अहिलेसम्म दुवै टोलीले मिश्रित नतिजा निकालेका छ । दुवै देशले दुई–दुई खेल खेल्दा समान एक खेलमा जित र एक खेलमा पराजय भोगेका छन् । यद्यपि, नेट रनरेटका आधारमा स्कटल्याण्ड अंक तालिकामा इंग्ल्याण्डभन्दा केही माथि रहेको छ । आजको खेलले यो समूहको समीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिन्छ ।

आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोस्थित एसएससी क्रिकेट मैदानमा बिहान ११:१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ बनेको छ ।

आफूले खेलेका अघिल्ला दुवै खेलमा हार बेहोरेका यी दुई टोली आज पहिलो जितको खोजीमा मैदान उत्रनेछन् । प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाउन आजको खेल दुवैका लागि अनिवार्य जित्नुपर्ने दबाब छ ।

आजको तेस्रो तथा अन्तिम खेलमा दुई अपराजित टोलीहरू न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकै ठूलो क्रिकेट रंगशाला, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यो खेललाई आजको सबैभन्दा प्रतिक्षित खेल मानिएको छ ।

न्युजिल्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघिका आफ्ना दुई-दुई खेलमा शानदार जित दर्ता गरिसकेका छन् । आजको खेलमा विजयी हुने टोलीले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै शीर्ष स्थानमा पकड जमाउनेछ ।