महाशिवरात्रिमा बहुमूल्य गहना नलगाउन काठमाडौँ प्रहरीको आग्रह

महाशिवरात्रिमा बहुमूल्य गहना नलगाउन काठमाडौँ प्रहरीको आग्रह


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा मन्दिरको दर्शन गर्न जाँदा महँगा गरगहना लगाएर नजान अनुरोध गरेको छ । पशुपतिनाथ मन्दिरलगायतका भीडभाड हुने क्षेत्रमा चोरी तथा लुटपाटका घटना हुनसक्ने भन्दै प्रहरीले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले शनिबार १३ बुँदे ‘एडभाइजरी’ जारी गर्दै बहुमूल्य सामग्रीको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।

यस्तै मन्दिरमा झोला नल्याउन, पशुपति क्षेत्रको मापदण्ड बमोजिम प्लास्टिकका झोला, कप, प्लेटलगायत सामग्री निषेध गरिएकाले निषेधित सामानको प्रयोग नगर्न पनि प्रहरीले आग्रह गरेको छ । सँगै दूध, गंगाजललगायत सामाग्री बोक्न पनि फुट्ने सिसाका भाँडा प्रयोग नगर्न पनि प्रहरी उपरिक्षक भट्टराईले आग्रह गरेका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको विषय पनि प्रहरीले स्मरण गराएको छ ।

यस्तै प्रहरीले अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क राख्न, कुनै सामान वा व्यक्ति हराएमा वा अन्य कुनै समस्या आइपरेमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।