काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज देशभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिएको छ ।
राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
जङ्गीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि शुरुआत भएको हो ।
नेपाली सेना देशभित्र मात्र नभइ अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ ।
पछिल्लो समय नेपाली सेनामा महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो ।
अहिलेसम्म ४४ शान्ति मिसनमा रही एक लाख ६२ हजार ४ सय ९६ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ ।
विश्वका १० मिसनमा अहिले ३ सय ९१ महिलासहित चार हजार ३ सय २ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा छ ।


प्रतिक्रिया