आमसभा छोडेर घरदैलोतिर ओली, झापा-५ मै व्यस्त

आमसभा छोडेर घरदैलोतिर ओली, झापा-५ मै व्यस्त


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यसपटक आफ्नो निर्वाचन क्षेत्र (झापा क्षेत्र नं. ५) मा विगतको तुलनामा निकै फरक र आक्रामक शैलीमा प्रस्तुत हुन थालेका छन् । विगतका निर्वाचनमा ठूला आमसभा र केही सीमित औपचारिक कार्यक्रमलाई मात्र प्राथमिकता दिने ओली यसपटक भने मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष संवादमा जुटेका हुन् ।

बढ्दो राजनीतिक चुनौती र बदलिँदो जनमतका बीच आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न अध्यक्ष ओलीले ‘ग्रास रुट’ अभियानलाई तीव्र बनाएका छन् । सोही सिलसिलामा उनी आज फेरि झापा आउन लागेका हुन् । गत माघ २३ गते झापा आएर सात दिनको अवधिमा ८० वटा गाउँका मतदातासँग साक्षत्कार गरी काठमाडौँ फर्किएका ओली, केही दिनको अन्तरालमै पुनः मतदाताका समस्या सुन्न र आफ्नो चुनावी एजेण्डा स्पष्ट पार्न जिल्ला आउन लागेका हुन् ।

एमाले झापाका अनुसार उनी आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट भद्रपुर विमानस्थल ओर्लिएलगत्तै आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

अध्यक्ष ओलीले आज विभिन्न पेशागत र सामुदायिक समूहसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । उनले शिक्षक भेला, धिमाल जाति तथा मुस्लिम समुदायका अगुवाहरूसँग बेग्लाबेग्लै भेटघाट गरी उनीहरूको सुझाव लिने र पार्टीको दृष्टिकोण राख्नेछन् । त्यसपछि दमक–२ स्थित आफ्नो अस्थायी निवासमा स्थानीय कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।

घरदैलोमा ६ दिन: यस्तो छ व्यस्त तालिका
एमाले केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ५ का चुनावी कमान्डर देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली फागुन ६ गतेसम्म झापामै रहेर चुनावी कमान्ड सम्हाल्नेछन् । यो अवधिमा उनले दमक क्षेत्रका प्रत्येक टोल र गाउँमा पुग्ने गरी कार्यतालिका बनाइएको छ । दैनिक ६ देखि ७ स्थानमा पुगेर मतदातालाई प्रत्यक्ष भेट्ने उनको योजना छ ।

एमाले दमक नगर अध्यक्ष राम पौडेलका अनुसार भोलि (सोमबार) बिहान ११ बजे दमक–५ को यलम्बर चोकबाट सुरु हुने कार्यक्रम साँझसम्मै व्यस्त रहनेछ । ११:५० मा दमक–६ को शंखधर चोक, दिउँसो १ बजे दमक–७ को तबिन चोक, २ बजे दमक–१ को हल्दार चोक, ३ बजे दमक–३ को गजकाली मन्दिर र अपराह्न ४ बजे दमक–३ कै आमचोकमा पुगेर ओलीले मतदातासँग अन्तरक्रिया गर्नेछन् ।