अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न नपाउने विश्वप्रकाश शर्माको दाबी

अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री कोही बन्न नपाउने विश्वप्रकाश शर्माको दाबी


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने दाबी गरेका छन् ।

सोमबार लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले काँग्रेसले अब दुई पटकभन्दा बढी कसैलाई प्रधानमन्त्री नबनाउने दाबी गरेका हुन् ।

‘कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी एक/दुई/तीन/चार को नीति संविधानमा अंकित गर्नेछौँ,’ उपसभापति शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’

काँग्रेस बदलिएर आएको कुरा बुझेका मतदाताले फागुन २१ को निर्वाचनमा जित दिलाउने पनि उनले विश्वास व्यक्त गरे । ‘देश जान्दछ, काँग्रेस बदलिएको छ । र, यो पनि देश जान्दछ-जो बदलिन सक्छ उसैले बदल्न सक्छ,’ उपसभापति शर्माले भने ।

देशको शासनमा गर्नुपर्ने सुधारबारे काँग्रेसले केस्राकेस्रा केलाएको उनले बताए । जेन जेड विद्रोहको भावनाबमोजिम सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई काँग्रेसले नै सम्भव बनाउने उनले दाबी गरेका छन् ।