ललितपुरमा एमाले उम्मेदवार महर्जन नाँचगान गर्दै घरदैलोमा

ललितपुरमा एमाले उम्मेदवार महर्जन नाँचगान गर्दै घरदैलोमा


ग्लोब नेपाल
0
Shares

ललितपुर । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत नेकपा (एमाले) ललितपुर क्षेत्र नं. २ का उम्मेदवार प्रेमबहादुर महर्जनलाई विजयी गराउने अभियानअन्तर्गत दोस्रो दिन आज व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार बिहान ललितपुर महानगर १७ नं. वडाको लुखुसीबाट सुरु भएको घरदैलो अभियान भैल चपा (बाको), धालाछेँ,त्यागल, ग्वार्को पुल, भेल्पा चोक, बाफल मार्ट, एन्फा, नायख्या, मचागा, बालविकास स्कुलदेखि नचा, प्रयाग पोखरी, सौगल, ओकुबहाल, सुन्धारा हकटोल, ग्वार्को, बाफ:ढोका, बुलाल खजाघर, सिज:, आकाशे पुल, सिन्चाहिटी, लुँखुसि महादेव, लगनखेल गणेश टोल, थैना, सुन्धारासम्म नाचगान गर्दै पुगेको थियो।

सो अवसरमा पूर्व सांसदसमेत रहेका उम्मेदवार प्रेमबहादुर महर्जनलाई विभिन्न संघसंस्था तथा महिला समूह र टोल सुधार समितिहरूले खादा, फूलमाला, अविर र टीका लगाएर सम्मान गरेका थिए । सम्मान गर्ने संस्थाहरूमा लुकसी महापूजा, जय महापूजा, कलश महापूजा, पुलिसमा महापूजा, नवजति महिला समूह, संयुक्त महिला समूह, बाफल महिला समूह, शिवमिसा पूजा, शिवनगर उद्योगशील महिला समूह तथा सिम्चाहिटी महिला समूह लगायत छन् ।

ललितपुर महानगरपालिका–१७ नम्बर वडाकी जनप्रतिनिधि सुलोचना महर्जनका अनुसार, उक्त वडामा रहेका एकाइसवटा टोल सुधार समितिले पनि प्रेम महर्जनलाई सम्मान गरेका छन्। कला–संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा उनले खेलेको भूमिकाका साथै विकास निर्माणका काममा देखाएको सक्रियताका कारण सबैले उनीप्रति सम्मान व्यक्त गरेको महर्जनले बताए ।

देशलाई अझै उन्नत र समृद्ध बनाउन सक्ने नेतृत्वका रूपमा उनलाई जिताउन सबै संघसंस्था र महिला समूह लागिपरेको उनको भनाइ छ । कार्यक्रमको समापन ललितपुर महानगर वडा नं ६ को थापा हिटी ढुङ्गेधारासम्म पुगेर कोणसभामा परिणत भएको थियो । सो सभामा उम्मेदवार प्रेमबहादुर महर्जनले स्थानीयवासीलाई सम्बोधन गर्दै विकास, सुशासन र जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घरदैलोका क्रममा उम्मेदवार प्रेमबहादुर महर्जनका साथ स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूले एमालेका जागरण गीतमा नाचगान गर्दै घरदैलो कार्यक्रमलाई उत्साहजनक बनाएका थिए ।