प्रदीप र चन्द्रको पाँचौं भेटमा सागरको इन्ट्री

प्रदीप र चन्द्रको पाँचौं भेटमा सागरको इन्ट्री

प्रदीपको कूटनीतिक, स्पष्ट वक्ता चन्द्र, सागरको परिवर्तनको नारा र सुदर्शनको सरल स्वभाव- यी चारै पक्ष मतदातालाई विकल्प


ग्लोब नेपाल
108
Shares

काठमाडौं । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीको क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मीले सीमा नाघेको छ । तीन दशकदेखि नेपाली कांग्रेस र नेकपा (एमाले) को ‘गढ’ मानिँदै आएको यस क्षेत्रमा यसपटक नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारको उदयले चुनावी समीकरणलाई निकै रोचक र पेचिलो बनाएको छ ।

यसपटक गुल्मी-१ को मैदानमा २१ जना उम्मेदवार उत्रिए पनि मुख्य प्रतिस्पर्धा भने चार जनाबीच हुने देखिन्छ । नेकपा एमालेबाट अनुभवी राजनीतिज्ञ एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाली कांग्रेसबाट बौद्धिक नेता एवं बहालवाला सांसद डा. चन्द्रकान्त भण्डारी बीचको चिरपरिचित ‘प्रतिस्पर्धा’ यसपालि पनि कायम छ ।

तर, यो द्विपक्षीय भिडन्तमा ‘ब्रेक’ लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट युवा इन्जिनियर सागर ढकाल र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पूर्वप्रदेशमन्त्री सुदर्शन बराल मैदानमा छन् । डडेल्धुराबाट राष्ट्रिय चर्चा कमाएका ढकाल र सरल छविका नेता बरालको उपस्थिति छिचोल्दै कसले विजयको माला पहिरिने हो भन्नेमा राष्ट्रिय चासो केन्द्रित छ ।

गुल्मी-१ को निर्वाचन इतिहासले सत्ता र शक्ति कहिले कांग्रेस त कहिले एमालेको पोल्टामा पुर्‍याउने गरेको छ । २०५६ देखि २०७९ सम्मका पाँचवटा निर्वाचनमा ज्ञवालीले तीन पटक र भण्डारीले दुई पटक बाजी मारेका छन् । २०७९ को पछिल्लो निर्वाचनमा भण्डारीले ज्ञवालीलाई १ हजार ५९२ को झिनो मतान्तरले पराजित गरेका थिए ।

यसअघि कहिले वाम गठबन्धन त कहिले लोकतान्त्रिक गठबन्धनका आधारमा चुनावी नतिजा प्रभावित हुँदै आएकोमा यसपटक सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धन नहुँदा साना दल र स्वतन्त्र उम्मेदवारले काट्ने मत नै ठूला दलका लागि ‘निल्नु न ओकल्नु’ हुने देखिन्छ ।

कुल १ लाख २२ हजार १८६ मतदाता रहेको यस क्षेत्रमा पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ । २०७९ को समानुपातिक मतलाई आधार मान्दा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन् । तर, रास्वपाले प्राप्त गरेको ८ हजार ११६ मत र माओवादी पृष्ठभूमिका सुदर्शन बरालको व्यक्तिगत प्रभावले नतिजालाई जुनकुनै बेला उल्ट्याउन सक्ने विश्लेषण विश्लेषकहरूले गरेका छन् ।

सागर ढकालको सामाजिक सञ्जालमा देखिएको ‘क्रेज’ मतपेटिकासम्म पुग्छ कि पुग्दैन भन्ने बहस चिया पसलदेखि चौतारीसम्म व्याप्त छ । उनले युवा पुस्ताको मत तान्ने दाबी गरे पनि संगठनात्मक आधार बलियो भएका ज्ञवाली र भण्डारीलाई पछि पार्न उनलाई भुइँ तहको मत सुरक्षित गर्नु ठूलो चुनौती हुनेछ ।

कालिगण्डकी, सत्यवती, रुरु, चन्द्रकोट र गुल्मी दरबार गाउँपालिकासहित रेसुंगा नगरपालिकाका केही वडा समेटिएको यस क्षेत्रमा उम्मेदवारको व्यक्तिगत छवि र स्थानीय विकासका एजेण्डा निर्णायक हुनेछन् । प्रदीप ज्ञवालीको कूटनीतिक उचाइ, चन्द्र भण्डारीको स्पष्ट वक्ताको छवि, सागर ढकालको परिवर्तनको नारा र सुदर्शन बरालको सरल स्वभाव- यी चारै पक्षले मतदातालाई विकल्प दिएका छन् ।