काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न रहेको दाबीसहितका प्रमाण सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आयोजित खुला प्रश्नोत्तर कार्यक्रममा बोल्दै थापाले लामिछानेको संलग्नता पुष्टि गर्ने भन्दै अदालती कागजात तथा चेकहरूको विवरण प्रस्तुत गरेका हुन् ।
‘साथीहरूले कमेन्टमा प्रमाण खोइ भन्नुहुन्छ, म आज यहाँ प्रमाणसहित उपस्थित भएको छु,’ थापाले भने, ‘यो मैले बनाएको आरोप होइन, नेपालको सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चको फैसला र विभिन्न जिल्ला अदालतमा पेश भएका तथ्यहरू हुन् ।’
थापाले चितवन र रुपन्देही जिल्ला अदालतमा रहेका मिसिलहरू उद्धृत गर्दै लामिछानेको नाममा करोडौं रुपैयाँ ऋण प्रवाह भएको दाबी गरे । उनका अनुसार गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारीबाट आएको रकम खर्च गरिएको र लामिछानेकै हस्ताक्षरमा चेकहरू भुक्तानी भएको देखिएको छ ।
‘चितवन अदालतको रेकर्ड अनुसार रवि लामिछानेको नाममा ११ करोड ७० लाख रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ र उहाँ आफैंले हस्ताक्षर गरेका ४१४ वटा चेक फेला परेका छन्,’ थापाले दाबी गरे । त्यस्तै, बुटवलस्थित सुप्रिम सहकारीबाट बिना धितो २ करोड रुपैयाँ लामिछानेको व्यक्तिगत नाममा ऋण प्रवाह भएको पनि उनले बताए ।
थापाले सर्वोच्च अदालतको वेबसाइटमा उपलब्ध फैसलाको बुँदा उल्लेख गर्दै लामिछाने प्रबन्ध निर्देशक हुनुअघि नै सञ्चालक समितिको बैठकमा सहभागी भई बैंक खाता खोल्ने निर्णयमा संलग्न रहेको जिकिर गरे ।
‘उहाँले निःशुल्क सेयर पाएको दाबी गर्नुभएको छ, तर उक्त सेयर लगानी गर्न सहकारीकै रकम प्रयोग भएको देखिन्छ,’ थापाले भने, ‘कम्पनीबाट अलग भएको भनिएको मिति पछि पनि सयौं चेकमा उहाँको हस्ताक्षर निरन्तर देखिन्छ ।’थापाले प्रस्तुत गरेका सबै तथ्य सार्वजनिक दस्ताबेजका रूपमा उपलब्ध रहेको र जोसुकैले सर्वोच्च अदालतको वेबसाइटमा गएर हेर्न सक्ने बताए ।


प्रतिक्रिया