काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनलाई फागुन २१ गते हुने निर्वाचनको भोलिपल्ट अर्थात् फागुन २२ गतेका लागि साधारण तारेख दिएको छ ।
रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट साधारण तारेख पाएको जानकारी दिए । यसअघि कात्तिक १२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेका सांसद र नेपाली काँग्रेसले छुट्टाछुट्टै रिट दायर गरेका थिए । ती रिटमा विपक्षी बनाइएकाबाट लिखित जवाफ मागिएको थियो । सबै विपक्षीबाट लिखित जवाफ पेस भए पनि अदालतले हालसम्म साधारण तारेख मात्रै दिएको छ ।
यस अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको र थप सुनुवाइ कहिले हुने भन्ने टुंगो लागेको छैन । रिट निवेदनमा प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको जिकिर गर्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न माग गरिएको छ । साथै वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति पनि असंवैधानिक रहेको दाबी गरिएको छ ।


प्रतिक्रिया