काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रसाईंलाई उपस्थित गराउन र पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको हो । प्रसाईंको हकमा उमा प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
पक्राउ पर्नुअघि प्रसाईंले आफूलाई प्रहरीले धरपकड गरेको र गिरफ्तार गर्न खोजेको भन्दै प्रहरी परिसर काठमाडौँलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनी पक्राउ परेका थिए ।
यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे दिएको अभिव्यक्तिलाई आधार बनाएर प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गर्दै बयान लिएर छाडेको थियो ।
प्रहरीले प्रसाईंले फागुन २१ मा हुने निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा पटक–पटक नियन्त्रणमा लिँदै आएको छ । माघ ५ गते पनि पोखराबाट पक्राउ परेका उनीसँग बयान लिएर प्रहरीले छाडेको थियो ।


प्रतिक्रिया