धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्याग गरेका छन् । उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय कार्यालयलाई राजीनामा बुझाएका हुन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली-५ बाट प्रत्यक्ष उम्मेदवार बनेका बिष्ट सो क्षेत्रमा सुदूरपश्चिम प्रदेशभरिमै रास्वपाका तर्फबाट दोस्रो बढी मत ल्याउने नेता हुन् । त्यतिबेला उनले ३ हजार ४०५ मत प्राप्त गरेका थिए ।
पार्टी स्थापनाका बखत अघि सारिएका ‘जान्नेलाई छान्ने’, प्राइमरी निर्वाचन र नातावादमुक्त राजनीतिको मूल आदर्शबाट प्रभावित भएर आफू रास्वपामा लागेको बिष्टले उल्लेख गरे । तर, पछिल्लो समय पार्टीले आफ्नो मूल बाटो बिराएको र निर्णय प्रक्रियामा पारदर्शिता हराउँदै गएको उनको आरोप छ ।
विज्ञप्ति जारी गर्दै बिष्टले भने, ‘पार्टीले स्थापनाकालीन मूल्य-मान्यता, विधान र सार्वजनिक प्रतिबद्धता विपरीत कार्यशैली अपनाउन थालेको महसुस भएको छ । संगठनका लागि अहोरात्र खट्ने कार्यकर्ताको मूल्यांकन हुनुको साटो विधि मिचेर गतिविधि सञ्चालन हुनु दुःखद छ ।’
निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र स्वेच्छाचारी शैलीले आफ्नो राजनीतिक निष्ठा र आत्मसम्मानमा चोट पुगेकाले मौन रहन नसकी पार्टीबाट अलग हुने निर्णयमा पुगेको उनले बताए । यसपटक पनि उनी कैलाली-५ बाट रास्वपाको टिकटका आकांक्षी थिए । तर पार्टीले आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् ।


प्रतिक्रिया