काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्सीय निर्वाचनमा विचार गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् ।
शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदाताहरूलाई आग्रह गरेका छन् ।
उनीहरूले देश हाल सबैभन्दा गम्भीर अवस्थामा पुगेकोले सामाजिक सञ्जालको भ्रमभन्दा बाहिर निस्केर सोच विचार गर्न पनि अपिल गरेका छन् ।
अध्ययन–विश्लेषण गरेर मात्रै मतदान गर्न र स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन उनीहरूले आह्वान गरे । बागमती प्रदेशका उपसभापति रहेर हालै रास्वपा परित्याग गरेका दिनेश हुमागाईँले मतदातालाई भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टता र देशवोधका आधारमा मत दिन आग्रह गरे ।
उनले चुपचाप नभई धेरै अध्ययन गरेर मत हाल्न आग्रह गरे । उनले देशले निकास पाउने र स्थायी सरकार बन्नेगरी मत दिनुपर्नेमा जोड दिए । उनले रास्वपा आफ्नो सिद्धान्तबाट विचलन भएको आरोप लगाए । समयमा पार्टीले अधिवेशन गर्न नसकेको, निर्वाचनमा उम्मेदवार चयन प्रक्रिया सही नभएको, नेतृत्वमा जबाफदेहिता नभएको कारण आफूले पार्टी छाडेको उनको भनाई छ । उनले नयाँको नाममा नेपाली जनता र जेन–जी आन्दोदनमाथी नै धोकाधडी हुन लागेको आरोप लगाए ।
उनले भने ‘फागुन २१ गतेका निर्वाचनमा चटकदारहरूलाई मत हाल्ने होइन, राजनीतिक व्यक्तिलाई, देश बुझेको व्यक्तिलाई र समाज बुझेको व्यक्ति र पार्टीलाई तपाईँहरूले चुन्नुहोस् । चुपचाप फलानो छाप भनिएको छ, चुपचाप होइन, धेरै अध्ययन गरेर मत हाल्नुस् । दुईचार दिन सोचेपनि हुन्छ । तर देशले निकास पाउनुपर्छ, स्थायी सरकार हुनुपर्छ ।’
रास्वपाबाट अलग भएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वमाथि सङ्गठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लगाए । उनले थितिको थालनी र बेतिथिको अन्त्य भन्ने नाराका साथ स्थापना भएको पार्टी हाल उल्टो बाटोतिर हिँडेको दाबी गरे । उनले उम्मेदवारी चयन प्रक्रिया सङ्गठनको आधारमा प्राइमरी निर्वाचनबाट हुने भनिएपनि त्यसो हुन नसकेको बताए । पार्टी सदस्यहरूलाई स्क्याम गरिएको दाबी गर्दै उनले आन्तरिक लोकतन्त्रमा विश्वासघात भएको आरोप लगाए । यस विषयमा आफूले पटक पटक आवाज उठाएपनि सुनुवाइ हुन नसकेकोले पार्टी छाड्न बाध्य भएको उनको भनाई छ ।
उनले भने ‘थितिको थालनी वेथितको अन्त्य भनेको साढे तीन वर्षमा ठ्याक्कै उल्टो भयो । थितिको अन्त्य र चरम बेतिथिको थालनी रास्वपामा देखिएको छ । पार्टी नेतृत्वले जहिले पनि आफू अनुकूलको संगठन बनाउन थाल्यो । हामी सम्पूर्ण पार्टी सदस्यलाई स्क्याम गरियो, पार्टी सदस्यलाई मेहनत गर, सोही सङ्गठनको आधारमा प्राईमरी ईलेक्सन हुन्छ भनियो तर चुनावको मुखमा आएर आफ्नो नेतृत्व छान्ने त्यो अधिकार संगठनबाट लुटियो । सम्पूर्ण पार्टी स्क्याममा परेको छ ।’
रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति समेत रहिसकेकी ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको बताइन् । बाहिर पारदर्शिताको कुरा गरिएपनि काम उल्टो देखिएको कारण दैनिक रूपमा पार्टी छाड्नेहरूको संख्या बढिरहेको उनको भनाई छ । उनले जान्नेलाई छान्ने पार्टीको नारा ठिक उल्टो भएपछि आफूले पार्टी छाडेको जानकारी दिइन् ।
उनले जनतालाई झुक्याउने काम मात्रै रास्वपाले गरिरहेको आरोप लगाइन् ।
उनले भनिन् ‘पार्टीले पारदर्शिताको कुरा गर्ने गरेको थियो, तर यहाँभित्र त अपारदर्शिता नै यति धेरै देखियो, त्यसले रास्वपामा लागेका सबै योद्धा साथीहरू प्रतिदिन एक एक गर्दै पार्टी छाड्दै हुनुहुन्छ ।’
रास्वपा त्यागेका नेताहरू प्रणय र ममता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् भने दिनेश हुमागाईँ हालसम्म कुनै पार्टीमा प्रवेश गरेका छैनन् । उनीहरूले मतदातालाई भावनात्मक लहर र आकर्षक नारा भन्दा दीर्घकालीन स्थायित्व, नीतिगत स्पष्टता र आन्तरिक लोकतन्त्रलाई आधार मानेर निर्णय लिन आग्रह गरेका छन् ।


प्रतिक्रिया