फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए ।
ट्रम्पको घर रहेको स्थान मार–आ–लागोमा सधैं कडा सुरक्षा व्यवस्था रहने गर्छ । बाहिरी घेरा स्थानीय शेरिफ कार्यालयले सम्हाल्छ भने भित्री सुरक्षा सिक्रेट सर्भिसले हेर्छ । आगन्तुकहरूको कडाइका साथ जाँच गरिन्छ, सवारीसाधन र झोला मेटल डिटेक्टर तथा कुकुरमार्फत परीक्षण गरिन्छ ।
यति कडा सुरक्षा व्यवस्थाकै कारण संदिग्ध व्यक्ति भित्री क्षेत्रमा प्रवेश कसरी गरे भन्ने खुलेको छैन । मारिएका ती व्यक्तिको पहिचानबारे भने थप अनुसन्धान जारी छ ।
स्थानीय सुरक्षा अधिकारीका अनुसार उक्त व्यक्तिलाई अमेरिकी स्टेट सिक्रेट सर्भिसका एजेन्ट र पाम बीच काउन्टी शेरिफका सुरक्षा अधिकारीहरुले रोक्ने प्रयास गरेका थिए । सुरुमा सुरक्षाकर्मीले ती व्यक्तिलाई हतियार छोड्न आदेश दिएका थिए । तर, उनले पेट्रोलको डिब्बा भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
राष्ट्रपति ट्रम्प र उनको परिवारका सदस्य वरिपरि सुरक्षा घेरा पहिलेभन्दा थप मजबुत बनाइएको छ ।


प्रतिक्रिया