न्युयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ ।
दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको यो हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द गरिएका छन् ।
न्युयोर्कदेखि म्यासाचुसेट्ससम्मका क्षेत्रहरू हिउँको बाक्लो तहले ढाकिएका छन्, जसले गर्दा सडक, हवाई र विद्युत् सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।
राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा झण्डै ३३ इन्चसम्म हिउँ जमेको छ ।
न्युयोर्कको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ । न्युयोर्कका सरकारी निकायहरूले यात्रा गर्नै नसकिने स्थिति रहेको भन्दै चेतावनी जारी गरेका छन् । हिमपातका कारण न्यु जर्सी र म्यासाचुसेट्समा सबैभन्दा बढी प्रभाव परेको छ, जहाँ ६ लाखभन्दा बढी घर र व्यवसायहरूमा विद्युत् आपूर्ति बन्द भएको छ ।
यो हिमपातले ४८ वर्षअघिको ऐतिहासिक रेकर्ड समेत ध्वस्त पारेको छ । रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा सन् १९७८ को फेब्रुअरीमा कायम भएको २८.६ इन्च हिउँको रेकर्डलाई उछिन्दै यस पटक ३३ इन्च हिउँ परेको छ ।
मौसमविद्हरूले यो अवस्थालाई सोचेभन्दा निकै भयावह र अनपेक्षित भनेका छन् ।
हिउँको थुप्रोका कारण सडकमा गुडिरहेका सयौँ सवारी साधनहरू बिचैमा फसेका छन् भने हिउँ पन्छाउने कार्यमा अवरोध पुर्याउने ३०० भन्दा बढी गाडीहरूलाई प्रहरीले तानेर हटाउनुपरेको छ ।
सुरक्षालाई ध्यानमा राख्दै रोड आइल्याण्ड, कनेक्टिकट र म्यासाचुसेट्स जस्ता राज्यहरूमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाइएको छ ।
म्यासाचुसेट्सकी गभर्नर माउरा हिलीले मानिसहरूलाई घरभित्रै रहन आग्रह गर्दै हिउँका कारण केही नदेखिने अवस्थाले गर्दा उद्धार कार्यमा समेत कठिनाइ भइरहेको बताएकी छन् । न्युयोर्क जस्तो व्यस्त सहर पनि सोमबार दिउँसोसम्म झण्डै सुनसान बनेको थियो ।
हवाई यात्राको अवस्था झनै नाजुक देखिएको छ । फ्लाइटअवेयरका अनुसार अमेरिकाभित्र र बाहिर हुने ५ हजार ६ सयभन्दा बढी उडानहरू रद्द भएका छन् ।
न्युयोर्कका लागाार्डिया र जेएफके विमानस्थलबाट हुने ९० प्रतिशतभन्दा बढी उडान ठप्प भए भने बोस्टन र न्यु जर्सीका प्रमुख विमानस्थलहरूले पनि आफ्ना अधिकांश उडान कटौती गर्नुपर्यो ।
म्यासाचुसेट्सको केप कडलगायतका क्षेत्रमा ८५ प्रतिशत ग्राहक अन्धकारमा बस्न बाध्य भएका छन् । रुखका हाँगाहरू भाँचिएर विद्युत्का तार र सडकमा खस्दा दुर्घटनाको जोखिम अझै बढेको छ ।


प्रतिक्रिया