ओखलढुंगामा पुराना दलहरुको शक्तिसंघर्ष मैदानमा छताछुल्ल

ओखलढुंगामा पुराना दलहरुको शक्तिसंघर्ष मैदानमा छताछुल्ल


ग्लोब नेपाल
81
Shares

ओखलढुंगा । देशभरि चुनावी माहोल उत्कर्षमा पुगिरहेको बेला ओखलढुंगामा देखिएको उमेदवारहरू को प्रतिस्पर्धा निकै रोचक मोडमा पुगिरहेको छ। ओखलढुंगामा राजनीतिमा विगतमा पुराना पार्टीहरूको बर्चस्व रहने गरेको भए पनि यसपटक रास्वपावाट विश्वराज पोखरेल प्रतिस्पर्धामा आए पछि पुरानो दलहरूको लागि निकै चुनौति थपिएको छ।

एमालेबाट पूर्व प्रदेश मन्त्री अम्विरबाबु गुरुङ एमालेको जिल्ला कमिटी नै चोइट्याएर नेपाली कम्युनिष्ट पार्टीवाट उमेदवार बनेपछि एमाले निकै अप्ठेरो झेल्दै निर्वाचनमा होमिएको छ । कांग्रेसको अवस्था पनि एमालेको भन्दा भिन्न छैन । जिल्लाका स्थापित नेता रामहरि खतिवडा अझै काग्रेस उमेदवार कुमार लुइँटेलसँग अलग्गिएर पार्टीलाई सघाएको अनौपचारिक्ता मात्र निर्वाह गरिरहेका छन्। उनी जिल्ला बाहिरका कार्यक्रममा सहभागी भएर जिल्लाभित्रको प्रचार प्रचारमा सकभर कम सहभागी हुने गरेका छन्। जिल्लामा निकै प्रभाव राख्ने निवर्तमान सांसद खतिवडा र प्रदेश मन्त्री प्रदिप सुनुवार निर्वाचनमा अपेक्षाकृत रुपमा कम सक्रिय हुँदा लुइटेललाई दाँतमा ढुंगा लागे बराबर भएको छ ।

यथार्थमा अहिल्यै उमेदवार बन्ने मनस्थिति बनाइ नसकेका उनी कांग्रेसभित्रको शक्ति संघर्ष र नेतृत्वमा भएको अप्रत्याशित फेरबदलको कारण टिकट पाएका हुन। जिल्ला भर आफ्नो प्रभाव र पहिचान स्थापित गर्न अझै भ्याइ नसकेका उनी र उनको बारेमा जिल्लाकै धेरै कांग्रेस कार्यकर्ताहरू अझै अनभिज्ञ छन्।

यसपटकको एमाले जिल्ला अधिवेशनमा अम्विर गुरुङले एकलौटी हैकम जमाउन सफल भएपछि जिल्लामा आफ्नो राजनीतिक हैसियत सकिएको महसुस गरेर हतासिएका एमाले नेता यज्ञ सुनुवार, किशोर अधिकारी, नानीवावु बुढाथोकी पुर्वमेयर मोहन श्रेष्ठजस्ता जिल्लाका पुराना र प्रभावशाली एमालेका नेताहरू जसरी हुन्छ अम्विर गुरुङलाई पन्छाउन चाहान्थे। यता अम्विरलाई पन्छाएर टिकट लिदा चुनाव जित्न गाह्रो हुने निश्कर्षमा पुगेका उनीहरू कुनै पनि अवस्थामा अम्विर गुरुङलाई पार्टीको उमेदवार हुन नदिने कसरत गरिरहे। जसको परिणाम स्वरुप अहिले नै उमेदवार बनिहाल्ने सोच बनाइ नसकेका अस्मिता थापाले पार्टीको टिकट पाइन् ।

जिल्लामा पार्टीभित्रको नेताहरू बीचको शक्ति संघर्षको कारण उमेदवार बन्न पुगेका थापा अहिले चुनावी प्रचार प्रसारमा व्यस्त छन्। उनी पनि अहिले सोचे जस्तो पार्टीको नेता र कार्यकर्ताको साथ नपाउँदा निकै हतासिएको अवस्थामा चुनावी अभियानलाई अघि बढाइरहेका छन्।

यता अन्तिम अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले टिकट दिएपछि हौसिएका अम्विर गुरुङ एमाले जिल्ला अधिवेशनमा देखिएको आफ्नो प्रभावजस्तै मानसिकता बोकेर चुनावी दौडमा छन्। तर जुन पार्टीबाट उनी उमेदवार बनिरहेका छन्। त्यही पार्टी भित्रका निष्ठावान कार्यकर्ताहरु भने अवसर परस्त मानसिकता बोकेका मानिसलाई चुनाव जिताए पनि भोलि यही पार्टीमा रहन्छ भनेर विश्वास गर्न सकिरहेका छैनन्। यसैले उनीहरू अझै निश्चिन्त भएर अम्विरको चुनावी कार्यक्रममा सहभागी भइरहेका छैनन्। यति बेला अम्विर गुरुङ पार्टीको उम्मेदवार भएर पनि स्वतन्त्र उमेदवारजस्तै आफै चुनावी कार्यक्रम र तालिका बनाएर दौडिरहेका छन्। यसवाट उनलाई पूर्वमाओवादीका निष्ठावान नेता कार्यकर्ताहरुले भोट नदिने अवस्था अझै विधमान छ।

विगतमा कुनै राजनीतिक पृष्ठभूमि नभएका पूर्व एआइजी विश्वराज पोखरेल पुराना दलप्रतिको बढ्दो जन असन्तोष र जेनजी आन्दोलनले सिर्जना गरेको परिवर्तनलाई भजाएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने कसरत गरिरहेका छन्। जिल्लामा रास्वपाको दरिलो संगठन र आफ्नो राजनीतिक पृष्ठभूमि नभए पनि परिवर्तित अवस्थाले सिर्जना गरेको माहोल विश्वराजको पक्षमा देखिएको छ ।

पुराना राजनीतिक दलभित्रको शक्ति संघर्ष र कार्यकर्ताहरुमा रहेका असन्तुष्टि आफ्नो पोल्टामा पर्ने अवस्था बनिरहदा यति बेला अन्य दल भन्दा रास्वपावाट उमेदवार बनेका विश्व राज लाई केही सजिलो रहेको जिल्लाका राजनीतिक जानकारहरू बताउछन्। जिल्लामा मुख्य राजनीतिक शक्तिको रुपमा रहेका कांग्रेस एमाले र पूर्वमाओवादी अहिले एकीकृत बनेर बनेका नेपाली कम्युनिष्ट पार्टी भित्रको किचलो, नेताहरू बीच एकले अर्कोलाई स्वीकार नगर्ने प्रवृत्ति गुट उपगुट र असन्तुष्टिको कारण कार्यकर्ता मात्र हैन। उनिहरूका शुभेच्छुक र जनताहरू समेत एक पटक नयाँ शक्तिलाई जिताएर पठाइ दिए यिनीहरूको मति सप्रिने थियो कि भन्ने सोच प्रबल बनिरहेको छ।

यसको प्रत्यक्ष फाइदा विश्व राजले पाउने अवस्था बनिरहेको प्रमुख दलका कार्यकर्ताहरु नै बताइ रहेका छन्। अहिले प्रतिस्पर्धामा रहेका उमेदवार मध्ये अनुभव दक्षता र ज्ञानको आधारमा विश्व राज अव्वल रहेकाले व्यक्तित्वको आधारमा पनि विश्व राज प्रति धेरै जनताको झुकाव बढीरहेको विश्लेषण भइरहेको छ। विगतमा २ सय ५ निर्वाचन क्षेत्र हुदा २ सय ४ क्षेत्र हार्दा पनि ओखलढुंगा कांग्रेस हार्दैनन भन्ने विश्वास गरिन्थ्यो। यसो हुनमा प्रजातन्त्र पुनः प्राप्तिको आन्दोलनमा ओखलढुंगा र यहाँको प्रजातान्त्रिक योद्धाहरूले विगतमा गरेका बलिदानको कारण थियो।

तर समय संगै यहाँको जनमतमा परिवर्तन आउँदा एमाले र माओवादीका उमेदवारले पनि कांग्रेसको कित्ता भत्काई सकेका छन्। अझ, जनयुद्धपछि केशव राई, जस्तो जनमानसमा खासै परिचय बनाइ नसकेका उमेदवारले चुनाव जितेको अवस्था रहेकोले जुन पार्टीमा जन लहर आउँछ त्यसले पनि निर्वाचन परिणामलाई प्रत्यक्ष प्रभाव पार्ने विगतको परिणामले पनि पुष्टि गरिसकेको छ।

यस कारण पनि अहिले घन्टीप्रतिको जनलहरले विश्वराजलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न अन्य दल र उमेदवारको तुलनामा सहज रहेको जिल्लाका चुनाव र जनमतलाई बुझेकाहरु बताउँछन्। दल र उमेदवारहरूको सहजता र असहजता जे जस्तो रहे पनि अन्तिम चुनावी नतिजाको लागि भने फागुन २१ गतेसम्म कुर्नै पर्ने हुन्छ।