कांग्रेस पूर्वसभापति देउवा सिंगापुर प्रस्थान, मतदानमा सहभागी नहुने पक्का

कांग्रेस पूर्वसभापति देउवा सिंगापुर प्रस्थान, मतदानमा सहभागी नहुने पक्का


ग्लोब नेपाल
405
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन जम्मा एक साता मात्र बाँकी रहँदा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । पार्टीभित्रको आन्तरिक कलह र नयाँ नेतृत्वसँगको असन्तुष्टिका कारण यसपटकको चुनावी प्रक्रियाबाटै बाहिरिएका देउवा ‘स्वास्थ्य उपचार’को कारण देखाउँदै बुधबार राति विदेश उडेका हुन् ।

अध्यागमन र विमानस्थल सुरक्षा स्रोतका अनुसार, देउवा बुधबार राति ११ः३० बजेको सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । राति साढे १० बजेतिर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको प्रतीक्षा कक्षमा उनी केही सहयोगीका साथ देखिएका थिए । यसअघि पनि नियमित फ्लोअप र उपचारका लागि सिंगापुर गइरहने देउवाको यसपटकको यात्रालाई भने राजनीतिक वृत्तमा ‘चुनाव छल्ने रणनीति’का रूपमा हेरिएको छ ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा यसपटक देउवाको उम्मेदवारी छैन । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि देउवा पार्टीको नेतृत्वबाट अपदस्थ भएका थिए । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता नपाएपछि उनले रुख चिह्नबाटै अन्तिम पटक चुनाव लड्ने इच्छा देखाएका थिए ।

तर, वर्तमान संस्थापन पक्षले टिकट नदिएपछि २०४८ सालयता डडेल्धुराबाट लगातार सात पटक अपराजित देउवा यसपटक रिङ आउट भएका हुन् । डडेल्धुरामा उनको सट्टा उनीनिकटकै युवा नेता नैनसिंह महरले टिकट पाएका छन् ।