काठमाडौं । फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा देउवा दम्पतीले नेपाल छोडेका छन् । कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचारको नाममा बुधबार राति एक्कासि सिंगापुर उडेका छन् । पूर्वपरराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ डा. आरजु राणा देउवा यतिबेला भारतमा छिन् । आम निर्वाचनको पूर्वसन्ध्यामा देउवा दम्पती देशबाहिर रहेपछि राजनीतिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनको दोस्रो दिन बुढानीलकण्ठस्थित निवासमै आक्रमणमा परेपछि देउवा दम्पतीको स्वास्थ्य र सुरक्षा चासोको विषय बन्दै आएको थियो । उक्त घटनामा घाइते भएकी आरजुको सुरुमा सैनिक अस्पताल छाउनीमा उपचार गरिएको थियो भने शेरबहादुर देउवाको टाउकोमा चोट लागेको थियो । त्यसयताको असहज परिस्थितिपछि आरजु भारतमा छिन् भने शेरबहादुर देउवा आफ्ना स्वकीय सचिव भानु देउवालाई लिएर सिंगापुर लागेका हुन् ।
पार्टीको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि देउवा दम्पती पार्टी राजनीतिमा निष्क्रिय जस्तै देखिएका छन् । आफ्नो राजनीतिक जीवनको अन्तिम चुनाव लड्ने इच्छा देखाएका देउवालाई नवनिर्वाचित सभापति थापाले टिकट दिएका थिएनन् । आफूलाई जोडबल गरेर अपदस्थ गरिएको भन्दै रुष्ट बनेका देउवाले अहिलेसम्म पार्टी र उम्मेदवारको पक्षमा भोटसमेत मागेका छैनन् । यद्यपि, डडेल्धुरालगायत केही स्थानमा कांग्रेस उम्मेदवारहरूले प्रचारप्रसारमा अझै पनि देउवाकै तस्बिर प्रयोग गरिरहेका छन् ।
यसअघि मतदानका लागि देउवा दम्पती गृहजिल्ला डडेल्धुरा जान सक्ने अनुमान गरिएको थियो । तर, देउवा सिंगापुर उडेपछि र आरजु भारतबाट फर्किने निश्चित नभएपछि मतदानमा सहभागी हुने सम्भावना छैन् । उनीहरुको विदेश पलयानले नेपाली राजनीतिमा कस्तो सन्देश दिन्छ, त्यो भने निर्वाचनपछि कांग्रेसले प्राप्त गर्ने परिणामले निर्धारण गर्नेछ ।


प्रतिक्रिया