निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा सरकारले म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो ।

नेपाली सेनाबाट ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी(म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको छ ।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले अहिलेसम्म मुलुकभरको शान्ति सुरक्षाको अवस्थामा कुनै शङ्का गर्नुपर्ने अवस्था नरहेको बताए । उनले आयोगले समय समयमा सुरक्षा निकायका प्रमुखसँग देशभरको सुरक्षा अवस्थाको बारेमा जानकारी लिइरहेको उल्लेख गर्दै कुनै पनि सुरक्षा चुनौतीको रिपोर्टिङ नभएको जानकारी दिए ।

तर, निर्वाचनको वातावरण बनाउन तथा सबैलाई सुरक्षित भएको अनुभूति दिन आयोगले विगतमा भन्दा केही अघि नै सेना परिचालनको निर्णय गरेको पनि उनले स्पष्ट पारेका छन् । विगतका निर्वाचनमा सेना परिचालन भए पनि तेस्रो घेरामा राख्दा सुरक्षा प्रभावकारी हुन नसकेको भन्ने राजनीतिक दलहरूको सुझाव आएकाले शान्ति सुरक्षाको लागि आवश्यक परे पहिलो घेरामा बस्न सक्ने गरी परिचालनको मोडालिटी तय गरिएको उनको भनाइ छ ।

जबराले भने, ‘निर्वाचन आयोगले निर्वाचन गर्ने हो । सरकार र आयोगको समन्वयमा निर्वाचन फौज खटाउने हो । हामी सुरुदेखि नै सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल र समन्वयमै छौँ । निर्वाचन सुरक्षा समितिको बैठकमा त्यस्तो कुनै समस्या देखिएको नपाएको उहाँहरूको ब्रिफिङ छ । केहीले निर्वाचन बहिस्कार गर्ने भनेको छ तर त्यसले असर गर्दैन । तर मौसमले केही वाधा पुर्‍याउन सक्छ ।’

निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै निर्वाचनमा नेपाली सेना प्रयोग गर्ने सम्बन्धमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा निर्वाचन यही फागुन २१ गते हुँदैछ ।