काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निः वर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेको आफ्नो सम्पत्ति छानबिन गर्ने बताएका हुन् ।
सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने काँग्रेसको सङ्कल्प रहेको जिकिर गरे । सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी काँग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिए ।
उनले भने ‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली काँग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ । त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानबिन सुरु गर्छ । आफ्नो बा भएपनि छोड्दैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा एउटा काण्डको छानबिन गर्छ । र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न । त्यसका लागि संस्था बनाउँछ, कानुन बनाउँछ । यो नेपाली काँग्रेस पार्टीले सङ्कल्प गरेर आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योगमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउँछ । तर कसरी रु भावुक चलाएर होइन । कसैलाई झुण्डयाएर होइन, कसैलाई ठोकेर होइन । नियम, कानुन भित्र रहेर त्यो काम सकिन्छ ।’
सभापति थापाले काँग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकलाई अघि बढाउने सबै विषयमा मिहिन ढङ्गले छलफल गरेको दाबी समेत गरे ।


प्रतिक्रिया