मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ, बेचैन छु : केपी ओली

मध्यपूर्वमा मिसाइल बर्सिंदा निदाउन सकिनँ, बेचैन छु : केपी ओली


ग्लोब नेपाल
0
Shares

काठमाडौं । इरान, इजरायल र अमेरिकाबीचको टकरावले मध्यपूर्वमा युद्धको सन्त्रास फैलिएपछि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो चिन्ता व्यक्त गरेका छन् । खाडी तथा मध्यपूर्वी मुलुकहरूमा रहेका लाखौँ नेपाली नागरिकको सम्भावित जोखिमलाई सम्झिएर आफू रातभर निदाउन नसकेको उनले बताएका छन् ।

पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि संयुक्त हमला गरेपछि त्यसको प्रतिवादमा इरानले अमेरिकी सैन्य अखडाहरू लक्षित गर्दै मिसाइल प्रहार गरेको छ । आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको औपचारिक पुष्टि भएको छ । उनीसँगै २ सयभन्दा बढीको ज्यान गएको समाचारहरु आइरहेका छन् ।

यस घटनाले मध्यपूर्व अशान्त बन्नुका साथै कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र इजरायललगायतका देशमा रहेका आप्रवासी नेपालीहरूमा ठूलो त्रासको माहोल सिर्जना गरेको छ । यसै सन्दर्भमा अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बेचैनी प्रकट गरेका हुन् । ‘मध्यपूर्वी देशहरूको आकाशबाट बर्सिएका मिसाइलको धुवाँले आज मलाई निद्रा परेको छैन । त्यहाँ लाखौँ नेपालीहरू आपत र कोलाहलको अवस्थामा छन्, जसका कारण यता स्वदेशमा रहेका परिवारजन पलपल छटपटाउनु परेको छ,’ उनले भनेका छन्, ‘तपाईंहरूको यो छटपटीले मलाई बेचैन बनाएको छ । यस्तो बेला हामीलाई असीम धैर्य, विवेक र सजगता आवश्यक छ ।’

अध्यक्ष ओलीले मध्यपूर्वका राष्ट्रहरू भूराजनीतिको जटिल चपेटामा फसेको यथार्थसमेत औंल्याएका छन् । शक्ति राष्ट्रहरूको निहित स्वार्थ र दबाबका कारण शान्ति चाहने देशहरू पनि जबरजस्ती युद्धको भुमरीमा धकेलिन विवश भएको उनको भनाइ छ । नेपालले सौभाग्यवश अहिलेसम्म यस्तो युद्ध र मिसाइलको विभिषिका भोग्नु नपरेको सन्दर्भ उल्लेख गर्दै ओलीले भविष्यमा पनि कुनै आवरणमा देशले यस्तो दुर्दशा भोग्न नपरोस् भनी प्रार्थना गरेका छन् ।

यस विषम परिस्थितिमा यूएई, इजरायल, इरानलगायतका सम्भावित जोखिमपूर्ण क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन उनले अपिल गरेका छन् । साथै, सङ्कटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको अवस्था पत्ता लगाई उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकार र त्यहाँस्थित नेपाली कूटनीतिक नियोगहरूलाई तत्काल प्रभावकारी कदम चाल्न अध्यक्ष ओलीले विशेष ध्यानाकर्षण गराएका छन् ।