रौतहटमा सेनाको बख्तरबन्द गस्ती, १० हजार सुरक्षाकर्मी मैदानमा

रौतहटमा सेनाको बख्तरबन्द गस्ती, १० हजार सुरक्षाकर्मी मैदानमा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन रौतहटमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा बख्तरबन्द गाडीसहितको गस्ती सुरु गरेको छ ।

जिल्लामा सुरक्षाको मुख्य कमाण्ड सम्हालिरहेको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन पैदल, मोटरसाइकल, साना-ठूला सवारी साधन र अत्याधुनिक बख्तरबन्द गाडीमार्फत ‘सडक मार्च’ र निगरानी बढाएको हो । सेनाले सम्भावित जोखिम हुन सक्ने संवेदनशील क्षेत्र र मतदान स्थलहरूलाई विशेष प्राथमिकतामा राखेर गस्ती परिचालन गरेको जनाएको छ ।

श्री नारायणदल गणका अनुसार जिल्लाका सबै १७ वटै स्थानीय तहमा सैनिक टोली तैनाथ गरिएको छ । कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन र आम नागरिकमा सुरक्षाको प्रत्याभूति गराउन सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग नजिकको समन्वयमा संयुक्त सुरक्षा योजना कार्यान्वयन गरिरहेको छ ।

विशेष गरी निर्वाचन बिथोल्न सक्ने समूह वा आपराधिक क्रियाकलाप रोक्न रणनीतिक महत्त्वका स्थानहरूमा सेनाले आफ्नो उपस्थिति बलियो बनाएको छ । मतदान केन्द्र वरपरको सुरक्षालाई लिएर सेनाले २४सै घण्टा उच्च सतर्कता अपनाएको अधिकारीहरूले बताएका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निर्वाचन सुरक्षाका लागि जिल्लाभर १० हजारभन्दा बढी सुरक्षाकर्मी र आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिए । एकीकृत सुरक्षा योजनाअन्तर्गत सुरक्षा निकायहरूले आफ्नो जिम्मेवारी सम्हालीसकेको र कुनै पनि सुरक्षा कमजोरी हुन नदिने उनले स्पष्ट पारे ।

‘निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न हामीले हरसम्भव उपाय अपनाएका छौँ,’ प्रमुख जिल्ला अधिकारी भुसालले भने, ;सुरक्षाको पूर्ण प्रबन्ध मिलाइएकाले रौतहटका मतदाताहरूलाई कुनै पनि त्रास नमानी, निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन म हार्दिक आग्रह गर्दछु ।’