काठमाडौँ । निर्वाचन अवरोधसम्बन्धी अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईँलाई पाँच दिनसम्म प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ।
उक्त निर्णयसँगै उनी फागुन २२ गतेसम्म अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहनेछन्। प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते तय भएको छ।
प्रहरीका अनुसार प्रसाईँलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जगेबुले पक्राउ अघि विधिसम्मत रूपमा पक्राउ पुर्जी हस्तान्तरण गरिएको जानकारी दिए। पक्राउ पुर्जीमा सार्वजनिक शान्तिविरुद्धको कसुरसम्बन्धी अनुसन्धान प्रयोजन उल्लेख गरिएको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’सँग सम्बद्ध प्रसाईँले निर्वाचन प्रभावित पार्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिँदै आएका थिए। राजावादी धारका अभियन्ता मानिने उनी यसअघि पनि पटक–पटक पक्राउ र रिहा हुँदै आएका छन्।
यसै फागुन ४ गते पक्राउ परेका प्रसाईँ सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते मुक्त भएका थिए। उनकी पत्नी उमा प्रसाईँले गैरकानुनी थुना बन्दीको दाबी गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।
प्रसाईँका माग र सरकारबीच यसअघि वार्ताका प्रयास भए पनि सहमति हुन नसकेको जनाइएको छ।


प्रतिक्रिया