काठमाडौँ । नेपाली काँग्रेसमा नेपाली काँग्रेस (बिपी) पार्टी औपचारिक रूपमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीबीच सहमति गरी काँग्रेसमा काँग्रेस (बिपी) समाहित भएको घोषणा गरिएको हो ।
काँग्रेस सभापति गगनकुमार थापा र नेपाली काँग्रेस (बिपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेको सहमति पत्रमा काँग्रेस (बिपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनिक निकाय मूलपार्टी नेपाली काँग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।
परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।
काँग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो काँग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमति पत्रमा उल्लेख छ ।
काँग्रेस (बिपी) ले नेपाली काँग्रेसको आदर्श, मूल्यमान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ ।


प्रतिक्रिया