जनताले अब भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन् : अध्यक्ष ओली

जनताले अब भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन् : अध्यक्ष ओली


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेका र कसैको भ्रममा नपर्ने दाबी गरेका छन् । झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताएका हुन् ।

उनले विकास गर्ने र विनाश गर्ने शक्तिबीचको फरक जनताले बुझिसकेको उल्लेख गरे । देश बचाउने र विकास गर्ने शक्तिलाई अत्यधिक मतले जिताउन आग्रह गरे । ओलीले दमक र आसपासका क्षेत्रमा भएको विकासको स्मरण गराउँदै विकासको यो गतिलाई निरन्तरता दिन सूर्य चिह्नमा मतदान गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले कस्तो चलेको छ भने एउटा आकासे हल्ला छ । एक दुई जना जनता अलिकति अल्मलिन्छ, अलिकति भ्रममा पर्छ । कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन । जनता अब बाठो भइसक्या छ । देखिसक्या छ । बुझिसक्या छ । जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन । त्यत्तिको बुझ्ने भइसक्या छ । जनता कसले विकास गर्छ, कसले आगो लाउँछ कसले देश बचाउँछ, कसले देश जलाउँछ यो कुरा थाहा पाइसकेको छ जनताले । त्यसर्थ देश जलाउनेलाई होइन देश बचाउनेलाई, देश जलाउनेलाई होइन देशको विकास गर्नेलाई यस पल्टको निर्वाचनमा अझ बढी मतले जिताउनुपर्ने आवश्यकता परेको छ । हामी त्यस कुरामा सचेत छौँ भन्ने मैले ठानेको छु, मैले विश्वास गरेको छु ।’

अध्यक्ष ओलीले जनताले अब कसले विकास गर्छ र कसले आगो लगाउँछ भन्ने कुराको फैसला गर्ने बेला आएको बताए ।