काठमाडौं । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार बिहान दुईवटा सवारीसाधनमा आगजनी गरिएको छ । काठमाडौंको नैकाप र सुकेधारामा अज्ञात समूहले सवारीसाधन जलाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार नैकापस्थित पुल नजिकै बा ७ च १४०१ नम्बरको भ्यान र सुकेधारामा बिएए २८३६ नम्बरको कारमा आगो लगाइएको हो ।
घटना मंगलबार बिहान पौने ३ बजे र पौने ४ बजेको आसपासमा भएको प्रहरीको भनाइ छ । आगजनीको सूचना पाएलगत्तै पुगेका दमकलको सहयोगमा आगो निभाइएको एसपी भट्टराईले बताए ।
प्रहरीले घटनास्थलबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सम्बद्ध पर्चाहरू समेत फेला पारेको छ । सोही आधारमा प्रसाईं निकटका व्यक्तिहरूले नै आगजनी गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ‘दुवै सवारीका धनी हालसम्म सम्पर्कमा आएका छैनन् । हामी सवारीधनीको खोजी गरिरहेका छौं र घटनास्थलमा फेला परेका पर्चाका आधारमा उनकै समूहमाथि अनुसन्धान अघि बढाएका छौं,’ एसपी भट्टराईले भने ।
आगामी फागुन २१ गते हुने निर्वाचन बिथोल्ने योजना बनाएको आरोपमा दुर्गा प्रसाईं हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन् । उनकै समूहले निर्वाचन लक्षित विरोध प्रदर्शनका क्रममा यस्तो गतिविधि गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया