वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ


ग्लोब नेपाल
378
Shares

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी वीरगन्जमा धार्मिक हिंसा र आतंक फैलाउने षड्यन्त्रलाई सुरक्षा निकायले विफल पारिदिएको छ । निर्वाचन सुरक्षामा खटिएको नेपाली सेना र प्रहरीको सक्रियताका कारण सम्भावित साम्प्रदायिक दङ्गाको जोखिम टरेको हो ।

बिहीबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित एउटा मस्जिदमा सुँगुरको टाउको फालेर धार्मिक सद्भाव बिथोल्ने र विस्फोट गराई त्रास फैलाउने योजना बनाइरहेको समूहलाई सुरक्षा फौजले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा उपसेनानी विकास मरहट्टाको कमाण्डमा खटिएको टोलीले वीरगन्ज-१६, छप्कैया चोक क्षेत्रमा सूक्ष्म निगरानी बढाएको थियो ।

मध्यरात साढे १२ देखि साढे २ बजेसम्म सञ्चालित ‘अपरेशन’का क्रममा शङ्कास्पद रूपमा हिँडिरहेका तीन युवालाई पिछा गरी नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा वीरगन्ज-१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र १६ वर्षीय अवजित यादव रहेका छन् ।

सुरक्षा स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूले मस्जिदमा सुँगुरको टाउको फालेर दुई समुदायबीच मुठभेड गराउने र सोही बहानामा निर्वाचन बिथोल्ने योजना बनाएका थिए । ‘उनीहरूले बजारबाट सुँगुरको टाउको खरिद गरी दुई टुक्रा पारेर मस्जिदमा फाल्ने तयारी गरेका रहेछन्,’ सुरक्षा निकायका एक अधिकारीले भने, ‘समयमै सूचना प्राप्त भएकाले ठूलो दुर्घटना र धार्मिक दङ्गा हुनबाट जोगिएको छ ।’

पक्राउ परेका युवाहरूको साथबाट प्रहरीले ९ थान सुतली बम (विस्फोटक पदार्थ), मोबाइल फोन, पावर बैंक, चार्जर र सेतो रङको विद्युतीय तार बरामद गरेको छ । साथै, धार्मिक आस्थामा चोट पुर्‍याउन प्रयोग गरिने भनिएको सुँगुरको टाउको समेत उनीहरूको साथबाट फेला परेको छ ।