काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनको मत परिणाम तीन स्थानको मात्र आउन बाँकी छ । इलाम–१, संखुवासभा र गोरखा–१ को मत परिणाम आउन बाँकी रहेको छ ।
यी तीनै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा एमालेको अग्रता छ । गोरखा–१ मा रास्वपाका सुदन गुरुङ, इलाम–१ मा कांग्रेसका निस्कल राई र संखुवासभाबाट नेकपा एमालेका डा. अर्जुन कार्की अगाडि छन् ।
गोरखा–१ मा गुरुङले २१ हजार ५५० मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले पच्छ्याउने प्रयास गरेका छन् । खत्रीले १२ हजार ६ सय मत प्राप्त गरेका छन् । गोरखा–१ मा नेकपा एमाले तेस्रो हो, उसका उम्मेद्वार हरिराज अधिकारीले ८ हजार १६८ मत प्राप्त गरेका छन् ।
इलाम–१ मा कांग्रेसका निस्कल राईलाई श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले चुनौति दिइरहेका छन् । प्राप्त पछिल्लो विवरणअनुसार राईले ११ हजार ८ सय ६१ मत पाउँदा श्रम संस्कृतिका लिम्बूले ११ हजार ४८८ मत पाएका छन् । उनीहरुबीच ३ सय ७३ मतान्तर छ । यो निर्वाचन क्षेत्रमा एमालेका काजीमान कागतेले १० हजार ७६२ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ७ हजार ७१६ मत पाएका छन् ।
संखुवासभामा एमालेका कार्कीलाई रास्वपाका मिङ्मा शेर्पाले चुनौति दिइरहेका छन् । कार्कीले १० हजार ९९७ मत प्राप्त गर्दा शेर्पाले ९ हजार ९६७ मत पाएका छन् । उनीहरुबीच ८ सय ६५ मतान्तर छ । कांग्रेसका दिपनकुमार श्रेष्ठले ८ हजार १ सय ७२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ६ हजार ५८७ मत प्राप्त गरेकी छन् ।
हालसम्म १६१ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । सबैभन्दा धेरै रास्वपाले १२४, कांग्रेसले १७, एमालेले ८, नेपाली कम्युनिष्ट पार्टी ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् । धनुषा–१ को मत परिणाम सार्वजनिक नगर्ने निर्वाचन आयोगलेृ यसअघि नै बताइसकेको छ ।


प्रतिक्रिया