भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् ।
नेकपा ९एमाले० मा रहेर विद्यार्थी तहबाट नै नेता बनेका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
४३ वर्षीय राई २०६२र६३ को जनआन्दोलनमा अग्रपंक्तिमा थिए । २०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बनेका थिए । सोही समय उनले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पुर्याउँदै गाउँ नै झिलीमिली बनाएका थिए ।
स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई कांग्रेसका सरोज बस्नेतसँग पराजित भएका थिए । राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गरेका थिए । त्यसभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य थिए ।
एमाले छाडेका राईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी हासिल गरे । उनले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७५० मत प्राप्त गरे ।


प्रतिक्रिया