भरुवा बन्दुकसँग तस्बिर खिच्ने क्रममा पड्किएर १७ वर्षीय किशोरको मृत्यु

भरुवा बन्दुकसँग तस्बिर खिच्ने क्रममा पड्किएर १७ वर्षीय किशोरको मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकामा अवैध भरुवा बन्दुक पड्किँदा एक किशोरले अकालमै ज्यान गुमाएका छन् । घरभित्र राखिएको बन्दुक हातमा लिएर तस्बिर (फोटो) खिच्ने क्रममा अचानक पड्किएर १७ वर्षीय सुवास महराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, मंगलबार साँझ परशुराम नगरपालिका-२ बसौटीमा उक्त दुर्घटना भएको हो । मृतक महराको स्थायी घर बैतडीको शिवनाथ गाउँपालिका-४ हो । उनी विगत केही समयदेखि बसौटीस्थित आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । दिदीकै घरमा राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिचाउने क्रममा बन्दुक पड्किँदा उनी गम्भीर घाइते भएका थिए ।

गोली लागेर रगताम्मे भएका महरालाई तत्काल उद्धार गरी उपचारका निमित्त जोगबुढा अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ परीक्षणमा संलग्न चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको सुरक्षाकर्मीको टोलीले घटनास्थलको निरीक्षण तथा मुचुल्का संकलन गरेको छ । प्रहरीले घटनास्थलबाट उक्त अवैध भरुवा बन्दुकसमेत बरामद गरेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा परशुराम नगरपालिका-२ का गणेशबहादुर बोहरा र बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका अर्का एक १७ वर्षीय किशोर रहेका छन् । घटना कसरी घट्यो र उक्त अवैध बन्दुक कसको हो भन्ने विषयमा थप सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।