काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्दै मुलुकको आगामी प्रधानमन्त्री नियुक्तिका लागि मार्गप्रशस्त गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको विद्यमान विधानमा रहेको संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्थालाई संशोधन गरी शाहका लागि बालुवाटारको यात्रा सहज बनाउन रास्वपा लागिपरेको हो ।
रास्वपाको विधान २०७९ को धारा ६६ (८) मा संसदीय दलको नेता चयनका लागि पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले मतदान गर्नुपर्ने झन्झटिलो प्रावधान छ । यो व्यवस्था कार्यान्वयनमा व्यावहारिक कठिनाइ देखिएपछि पार्टीले विधान संशोधन गरेर निर्वाचित सांसदहरूबाटै दलको नेता छानिने कानुनी बाटो रोज्न लागेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २५ ले पनि सम्बन्धित दलका सांसदहरूले आफूमध्येबाट एक जनालाई संसदीय दलको नेता चयन गर्ने व्यवस्था गरेको छ । सोही ऐन र व्यावहारिक आवश्यकतालाई मध्यनजर गर्दै रास्वपाले विधान परिमार्जन गर्न लागेको बुझिएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित स्पष्ट बहुमत पाएको रास्वपामा संसदीय दलको नेता चयन हुनासाथ शाहलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक सुनिश्चितता छ । पार्टीस्रोतका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच गत पुस १३ गते भएको सहमतिअनुसार नै यो प्रक्रिया अघि बढेको हो । उक्त सहमतिमा लामिछाने पार्टी सभापति रहने र शाह संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख थियो ।
हाल अस्वस्थताका कारण शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेका सभापति लामिछानेले अस्पतालकै बेडबाट सरकार गठन र विधान संशोधनका विषयमा शाह र अन्य शीर्ष नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले आराम गर्न सुझाए पनि लामिछाने राजनीतिक गतिरोध अन्त्य र नयाँ सरकार गठनका लागि सक्रिय छन् ।
शनिबारसम्म विधान संशोधन र उम्मेदवार चयन
रास्वपाका नेता शिशिर खनालले पार्टीको शीर्ष नेतृत्वको परामर्शमा सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएर विधान संशोधनको प्रक्रिया पूरा गरिने जानकारी दिए । ‘विधानको पुरानो व्यवस्था व्यावहारिक नभएकाले त्यसलाई संशोधन गरी सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने तयारी छ,’ खनालले भने ।
पार्टी सहप्रवक्ता प्रतिभा रावलले पनि बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेरै निर्वाचनमा होमिएको स्पष्ट पार्दै आवश्यक प्रक्रिया मिलाएर उनी नै संसदीय दलको नेता बन्ने बताइन् । रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नाम टुंगो लगाउन र विधान संशोधनको निर्णय शनिबारसम्ममा गरिसक्ने लक्ष्य राखेको छ ।
निर्वाचन आयोगले चैत पहिलो साताभित्र समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने र राष्ट्रपतिसमक्ष अन्तिम प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । आयोगबाट सांसदहरूले प्रमाणपत्र पाएसँगै रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको औपचारिक जानकारी राष्ट्रपतिलाई गराउनेछ । त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम बहुमतप्राप्त दलको नेताका हैसियतमा शाहलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।


प्रतिक्रिया