काठमाडौं । इरान युद्धले ऊर्जाको मूल्य बढेपछि अमेरिकाले रुसी कच्चा तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पारेको छ ।
इजरायलसँग मिलेर इरानमाथि गरिरहेको युद्धका कारण बढेको तेल र ग्यासको मूल्य कम गर्ने आशामा अमेरिकाले समुद्रमै रोकिएका रुसी पेट्रोलियम पदार्थहरूमाथि ३० दिनका लागि प्रतिबन्ध हटाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
प्रतिबन्ध हटाइएपछि रुसले अन्तर्राष्ट्रिय जलमार्गमा रहेका तेल ट्याङ्कहरू विभिन्न देशमा पठाउन सक्नेछ । इरानमा युद्ध शुरू भएलगतै अमेरिकाले भारतलाई रुसी तेल किन्न अनुमति दिइसकेको छ ।
यसअघि अमेरिकाले रुसबाट तेल किन्ने देशहरूलाई उच्च भन्सार दर लगाउँदै आएको थियो । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले रुसी तेलमाथि प्रतिबन्ध लगाएको थियो ।
अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र स्ट्रेट अफ हर्मुजमा तेल बोकेका ट्याङरहरूलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । यो मार्ग भएर आउजाउ गर्ने ट्याङ्करको आवागमन अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ ।
हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ । इरानले हिजो तेलको भाउ प्रतिब्यारेल २०० अमेरिकी डलरसम्म पुग्न सक्ने चेतावनी दिएको थियो । अहिले एशियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य १०० डलरभन्दा माथि छ ।
मध्यपूर्व युद्ध शुरू भएको दोस्रो हप्ता पुग्दै गर्दा रोकिने कुनै सङ्केत देखिएको छैन । इजरायल र इरानले एकअर्काविरुद्धको आक्रमणलाई निरन्तरता दिइरहेका छन् । इरानले आज इजरायलमा फेरि मिसाइल र ड्रोन प्रहार गरेको रोयटर्सको खबरमा उल्लेख छ । यस्तै इजरायली सेनाले इरानको राजधानी तेहरानमा गरेको र लेबनानमा इरान–समर्थित विद्रोही समूह हिजबुल्लाहमाथिको आक्रमण जारी राखेको बताएको छ ।
यसैबीच आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी–१३५ विमान पश्चिमी इराकमा दुर्घटना हुँदा चालक दलका ६ मध्ये चार जनाको ज्यान गएको अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इन्धन भर्न प्रयोग भइरहेको दुईमध्ये एउटा विमान दुर्घटना भएको हो । अर्काे विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।


प्रतिक्रिया