रास्वपाको सचिवालय बैठक सर्‍यो, भोलि आइतबार बस्ने

रास्वपाको सचिवालय बैठक सर्‍यो, भोलि आइतबार बस्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरी सरकार गठनको तयारीमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक प्राविधिक कारणवश स्थगित गरी भोलि (आइतबार) बिहानका लागि आह्वान गरिएको हो ।

रास्वपाका अनुसार, निर्वाचन आयोगमा समानुपातिक सांसदहरूको अन्तिम सूची बुझाउने समयसीमा र संसदीय दलको नेता चयनका लागि विधान संशोधन गर्नुपर्ने कार्यसूचीसहित डाकिएको बैठक भोलि बिहान बस्ने गरी तय भएको छ । सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था र आन्तरिक तयारीलाई मध्यनजर गर्दै बैठकको समय हेरफेर गरिएको बताइएको छ । लामिछाने हाल चिकित्सकको सल्लाहबमोजिम आफ्नै निवासमा आराम गरिरहेका छन् ।

बैठकको मुख्य एजेण्डा पार्टीको विद्यमान विधानको धारा ६६ लाई परिमार्जन गर्नु रहेको छ । रास्वपाको वर्तमान विधानमा साधारण सदस्यहरूले नै संसदीय दलको नेता चुन्न पाउने व्यवस्था छ । तर, राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २५ ले निर्वाचित सांसदहरूले मात्रै आफूमध्येबाट संसदीय दलको नेता छान्नुपर्ने कानुनी बाध्यता तोकेको छ ।

कानुनसँग बाझिएको यो प्रावधानलाई संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता निर्वाचित गर्ने रास्वपाको योजना छ । प्रतिनिधिसभामा १८२ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाले शाहलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।

निर्वाचन आयोगले आइतबारभित्र समानुपातिक सांसदहरूको अन्तिम नामावली पेस गर्न पत्राचार गरेसँगै रास्वपाले आफ्ना ५७ सिटका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाउने चटारोमा छ । भोलिको सचिवालय बैठकले प्रारम्भिक नामावली तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय समितिको बैठकले उक्त सूचीलाई अन्तिम रूप दिने बताइएको छ ।

बिहीबार मात्रै सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच लामिछाने निवासमा करिब दुई घण्टा लामो संवाद भएको थियो । सो भेटमा नयाँ सरकारको स्वरुप, मन्त्रिपरिषद् विस्तार र आगामी कार्यदिशाबारे सघन छलफल भएको थियो । सहप्रवक्ता प्रतिभा रावलका अनुसार दुई शीर्ष नेताबीचको सहमतिकै आधारमा पार्टी अब ठोस निर्णयका साथ अघि बढ्ने तयारीमा छ ।

संसदीय दलको नेता चयन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (१) बमोजिम बहुमतप्राप्त दलको नेताको हैसियतमा बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया सुरु हुनेछ ।