चुनावी पराजयको कारण खोज्दै कांग्रेस

चुनावी पराजयको कारण खोज्दै कांग्रेस

केन्द्रले माग्यो उम्मेदवार र कार्यसमितिसँग जवाफ


ग्लोब नेपाल
378
Shares

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अप्रत्याशित नतिजाको सूक्ष्म विश्लेषण र समीक्षा प्रक्रिया सुरु गरेको छ । निर्वाचनमा अपेक्षा गरेबमोजिमको परिणाम हासिल हुन नसकेपछि केन्द्रीय कार्यालयले सबै तहका संरचना र उम्मेदवारहरूलाई हारका कारणसहितको विस्तृत प्रतिवेदन माग गर्दै विशेष परिपत्र जारी गरेको हो ।

पार्टीका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित उक्त परिपत्रमा निर्वाचन परिणामलाई ‘आत्मसमीक्षाको विषय’ भन्दै यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ । निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्ताको भूमिका प्रशंसनीय रहे तापनि समग्र नतिजा पार्टीको हितमा नआएको निष्कर्ष निकाल्दै कांग्रेसले अब हारको प्राविधिक र राजनीतिक कारण खोज्न तल्लो तहलाई निर्देशन दिएको छ ।

पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को व्यवस्था बमोजिम जिल्ला र प्रदेश स्तरमा अनुशासन समिति गठन गर्न कांग्रेसले कडा निर्देशन दिएको छ । यदि यस्ता समितिहरू हालसम्म गठन भइसकेका छैनन् भने तत्काल गठन गरी संयोजक र सदस्यहरूको नाम तथा सम्पर्क नम्बर आधिकारिक रूपमा केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।

केन्द्रीय कार्यालयले पठाएको निर्देशनमा निर्वाचनको वस्तुपरक समीक्षा, पराजयका मुख्य कारणहरू, चुनावी अनुभव र आगामी दिनमा पार्टी संगठन सुदृढीकरणका लागि गर्नुपर्ने सुधारका पक्षहरूलाई समेटेर प्रतिवेदन तयार पार्न भनिएको छ । यो निर्देशन प्रदेश र जिल्ला कार्यसमितिका साथै प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूका लागिसमेत अनिवार्य गरिएको छ ।

कांग्रेसले अनुशासन समितिको पूर्ण विवरण र निर्वाचन समीक्षा प्रतिवेदन बुझाउनका लागि आगामी चैत ३ गतेसम्मको समयसीमा तोकेको छ । पार्टी संगठनलाई थप सुदृढ, अनुशासित र प्रभावशाली बनाउने उद्देश्यले यो कदम चालिएको पत्रमा उल्लेख छ । यस प्रक्रियाले आगामी दिनमा पार्टीको रणनीति तय गर्न र आन्तरिक कमजोरी सुधार्न सहयोग पुग्ने विश्वास कांग्रेस नेतृत्वले लिएको छ ।