रवि लामिछानेसम्बन्धी रिटमा सर्वोच्चमा सुनुवाइ, सुवेदी र पोखरेलको इजलासमा पेसी

रवि लामिछानेसम्बन्धी रिटमा सर्वोच्चमा सुनुवाइ, सुवेदी र पोखरेलको इजलासमा पेसी


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको हो ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी मुद्दासँगै जोडिएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन् ।

सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’मार्फत लामिछानेमाथि सहकारी ठगी मुद्दा मात्र कायम राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन् ।

उक्त निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेश गरिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले सुनुवाइ अघि बढ्न सकेको छैन ।

महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयहरूले भने लामिछानेसहितको अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन् ।