भीआईपी धम्क्याउन प्रदीप अधिकारीसँग २ करोडको ‘सुपारी’

भीआईपी धम्क्याउन प्रदीप अधिकारीसँग २ करोडको ‘सुपारी’


ग्लोब नेपाल
297
Shares

काठमाडौं । अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याउने प्रकाश पाठक यति बेला प्रहरीको हिरासतमा छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ परेका पाठकले अख्तियार प्रमुखलाई धम्क्याउन नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग ‘सुपारी’ लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान अधिकृतहरूसँगको बयानमा पाठकले प्रदीप अधिकारीसँग रकम लिएको समेत स्वीकार गरेका छन् । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा अनियमितता भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि अख्तियारले अनुसन्धान गरिरहेको बेला ती मुद्दाबाट जोगिन अधिकारीले अख्तियार प्रमुख विरुद्ध आपराधिक ‘गिरोह’ परिचालन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ अधिकारीसँग आफूले २ करोड नगद लिएको पाठकले बयानमा स्वीकार गरेका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार पाठकले बयानमा भनेका छन्, ‘उहाँबाट मैले २ करोड रुपैयाँ लिएको हुँ ।’ अधिकारीले सो रकम एकजना चिनियाँ ठेकेदार मार्फत हुण्डी गरेर पठाएको अनुसन्धानबाट खुलेको छ । सो रकमले आफूले फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको पाठकले स्विकारेका छन् ।

अनुसन्धान अधिकृतहरूले उनको भनाई पुष्टि गर्ने प्रमाण सङ्कलन गरिरहेका छन् । फिलिपिन्सबाट उनलाई माघ २८ मा नेपाल ल्याइएको हो । उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत अख्तियार प्रमुख सहित १० जना हाइप्रोफाइललाई धम्की दिएका थिए ।

प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र गर्न नहुने कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।