काठमाडौं । आगामी चैत्र ५ र ६ गते काठमाडौमा हुने नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनमा चार जनाले महासंघको अध्यक्षमा दावी गरेका छन् ।
अध्यक्षमा दावी गर्नेमा बागमती प्रदेशका पूर्व मन्त्री निमा लामा ह्योल्मो पनि रहेका छन् । ह्योल्मो संगै छन्त्याल संघका पूर्व अध्यक्ष मनमोहन छन्त्याल, किरात राई योक्खाका अध्यक्ष जीवन हाताचो राईसमेत अध्यक्षको दावी गर्नेमा छन् ।
ह्योल्मोलाई निवर्तमान अध्यक्ष गेल्जे लामा शेर्पा, पूर्व अध्यक्षहरु जगत बराम, पासाङ शेर्पा र नगेन्द्र कुमाल समेतको समर्थन रहेको जनाइएको छ ।
छैठौ महाधिबेशनबाट महासंघको सचिव र कार्यवाहक अध्यक्ष समेत सम्हाली सकेका ह्योल्मो आदिवासीका सवालमा राष्टिय र अन्तराष्टिय मञ्चहरुमा परिचित छन् ।
छन्त्यालले सर्वसम्मतीको वातावरण भए ह्योल्मोलाई समर्थन गर्ने संकेत गरेका छन् । तथापि अहिलेसम्म सर्वसम्मतीको वातावरण बनेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । यसको बन्द सत्र भने चैत ६ गते काठमाडौंको स्वयम्भू स्टार ब्याङ्केटमा हुने महासंघले जनाएको छ । बन्द सत्रमा महासंघका संघीय सचिवालयका पदाधिकारी, सल्लाहकार, संघीय परिषद सदस्य, जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषद्बाट ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने कार्यक्रम छ ।
२०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो । महासंघले आदिवासी जनजातिहरूको सामूहिक अधिकार, प्राकृतिक स्रोतमा अग्राधिकार, पहिचान, भूमिअधिकार तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ ।
महाधिबेशनले अध्यक्ष सहित २१ जना रहने सचिवलय निर्वाचनको माध्यमबाट गठन गर्ने छ । महासंघको बिधान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, तीन महिला सहित ७ उपाध्यक्ष, एक एक जना महासचिव, उपमहासचिव, चार महिला सहित ८ विभागीय÷विषयगत सचिव र कोषाध्यक्ष, सहकोषाध्यक्ष एक एकजना सहित २१ जनाको सभिवालय निर्वाचित गर्ने प्रावधान छ ।
नेपाल आदिवासी जनजाति महासंघमा ५६ जातीय संस्थाले संगठन सदस्यता प्राप्त गरेका छन् । विधान अनुसार सदस्यता प्राप्त गरेका संस्थाले मात्र एक संस्था एक भोटका आधारमा मत दिने विधानमा व्यबस्था छ ।
महासंघको विधान अनुसार सचिवालय सदस्य बन्न सदस्य संगठनले मात्र पाउने छन् । र त्यस्तो संगठनमा रहेका कुनै पदाधिकारी वा केन्दीय सदस्यका एक कार्यकाल काम गरिसकेको हुनु पर्ने छ ।
यस अघि अध्यक्ष, महासचिव पदमा एक पटक निर्वाचित भइसकेका सदस्य संगठन (जाति) बाट उक्त पदहरूमा उम्मेदवारी दिन नपाउने विधानमा उल्लेख छ । यस अनुसार महासंघको अध्यक्षमा मगर, तामाङ, लिम्बु, कुमाल, थारु र शेर्पाले दावी गर्न नसक्ने देखिएको छ ।


प्रतिक्रिया