काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं विश्व सम्मेलन तथा एकता महाधिवेशनले नेपालको आर्थिक समृद्धि र प्रवासी नेपालीको हकहितलाई केन्द्रमा राख्दै १२ बुँदे विशेष प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘एकता र सहकार्य’ को मूल नारासहित सम्पन्न महाधिवेशनले लगानी प्रवर्द्धन, नीतिगत सुधार र दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिसँग जोड्ने ठोस योजना अघि सारेको हो ।
सम्मेलनले नेपालको विकासमा विश्वभर रहेका नेपालीहरूको सामूहिक लगानी भित्र्याउन विद्यमान कानुनी व्यवधान हटाउनुपर्नेमा जोड दिएको छ । एनआरएनएले लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारसँग विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै झन्झटिलो प्रशासनिक प्रक्रियालाई सरलीकृत गर्न माग गरेको छ ।
नीतिगत सुधार र लगानीको सुरक्षा : प्रवासी नेपालीको लगानीलाई सुरक्षित र मर्यादित बनाउन संघले एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन तथा विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनमा सामयिक संशोधनको माग गरेको छ । विशेषगरी चल–अचल सम्पत्तिको कारोबार, धितोपत्रमा लगानी र लगानी फिर्ता लैजाने प्रक्रियालाई व्यवस्थित गर्न छुट्टै शक्तिशाली निकाय स्थापना गर्नुपर्ने संघको ठहर छ । यसैगरी, ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ मार्फत जारी हुने धितोपत्रको सीमा ४५ प्रतिशत कायम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
श्रमिकको सुरक्षा र राहतमा तदारुकता : पश्चिम एसिया (खाडी मुलुक) मा विकसित पछिल्लो राजनीतिक परिस्थितिपछि त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षाप्रति संघले गम्भीर चिन्ता व्यक्त गरेको छ । संकटको समयमा नेपालीहरूको तत्काल उद्धार, राहत र पुन:स्थापनाका लागि नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी प्रभावकारी संयन्त्र बनाइने घोषणापत्रमा उल्लेख छ । साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको अधिकार र सम्मानजनक रोजगारीका लागि नीतिगत पैरवी गरिने संघले जनाएको छ ।
दोस्रो पुस्ता र प्रविधि हस्तान्तरण : प्रवासमा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली युवालाई आफ्नो पुर्ख्यौली जगसँग जोड्न भाषा, कला र संस्कृतिको प्रवर्द्धन गर्ने कार्यक्रम ल्याइने भएको छ । डिजिटल माध्यम र शैक्षिक कार्यक्रममार्फत उनीहरूलाई नेपाली पहिचानसँग साक्षात्कार गराउने लक्ष्य राखिएको छ । यसका साथै, विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक र अनुसन्धानकर्ताहरूको ज्ञान र सीपलाई ‘ब्रेन गेन’ मार्फत नेपालको विकासमा लगाउने योजनालाई संघले प्राथमिकतामा राखेको छ ।
पर्यटन र पूर्वाधार विकासमा सहकार्य : जलविद्युत्, कृषि, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा लगानी प्रोत्साहित गर्दै नेपाललाई विश्वसामु चिनाउने अभियानलाई थप सशक्त बनाइने भएको छ । नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरी पर्यटन विकासमा टेवा पुर्याउने संकल्प महाधिवेशनले गरेको छ । विश्वभर छरिएका नेपालीहरूको भावनालाई एकीकृत गर्दै मुलुकको समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धतासहित यो १२ बुँदे घोषणापत्र जारी गरिएको हो । सम्मेलनले नेपाल सरकारलाई यी प्रतिबद्धताहरू कार्यान्वयनमा सघाउन र आवश्यक कानुनी आधार तयार पारिदिन पुन: आग्रह गरेको छ ।
यस्तो बन्यो एनआरएनएको नयाँ टिम :
- अध्यक्ष : डा. हेमराज शर्मा
- वरिष्ठ उपाध्यक्ष : रोविन शेरचन
- उपाध्यक्षहरू : खगेन्द्र न्यौपाने (मलेसिया), रामशरण सिम्खडा (युके), प्रबिन गुरुङ (कतार), रोजिना प्रधान राई (बेलायत), जुनु गुरुङ (दक्षिण कोरिया), महेन्द्र ओली (अस्ट्रेलिया), रोशन थापा (जाम्बिया), दिनेश पोखरेल (अस्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (युएई) र रबिन बज्राचार्य ।
- महिला उपाध्यक्ष : राधिका गुरुङ ‘टीका’ (हङकङ)
- युवा उपाध्यक्ष : भीमसेन थापा (पोर्चुगल)
- महासचिव : गंगाधर गौतम (बेल्जियम) र डा. चिरञ्जीवी खड्का (चेक रिपब्लिक)
- उपमहासचिव : टंक प्रसाद गैरे (जापान), दिनेश कुमार घिमिरे (बेलायत), डा. ज्ञानेन्द्र रेग्मी (अस्ट्रेलिया) र पारसमणि पोखरेल (जापान) ।
- सचिव : राजेन्द्र अर्याल (साउदी अरब), सुजन अधिकारी (अस्ट्रेलिया), अभिमन्यु बस्नेत (क्यानडा), अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), माधव दुलाल (क्यानडा) र सुपेन्द्र घिसिङ (जापान) ।
- महिला सचिव : अमृता थापा ‘कञ्चन’ (चीन)
- कोषाध्यक्ष : कृष्णप्रसाद तिमल्सिना (बेलायत)
- सहकोषाध्यक्ष : अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान (कतार)
- महिला सहकोषाध्यक्ष : गंगा खतिवडा (दक्षिण कोरिया)
- युवा संयोजक : नवीन निउरे (जापान)
- क्षेत्रीय संयोजकहरू : रमेश श्रेष्ठ (मध्यपूर्व), दीपक कँडेल (एसिया प्यासिफिक) र रोबोट लिम्बु (युरोप)


प्रतिक्रिया