काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) की सञ्चालक समिति सदस्य लीमा अधिकारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेपछि उनले बैंकको जिम्मेवारीबाट बिदा लिएकी हुन् ।
रास्वपाकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी अधिकारीले साढे चार वर्षदेखि निफ्राको बोर्ड अफ डिरेक्टरका रूपमा कार्यसम्पादन गर्दै आएकी थिइन् । उनी गत मंसिर २३ गते सम्पन्न बैंकको सातौं वार्षिक साधारण सभाबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित भएकी थिइन् ।
सञ्चालक समितिबाट बिदा हुने क्रममा अधिकारीले निफ्रासँगको आफ्नो कार्यकाल निकै उपलब्धिमूलक रहेको बताइन् । उनले भनिन्, ‘मुलुकको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने उद्देश्य बोकेको गरिमामय संस्थासँग आबद्ध हुन पाउनु मेरो लागि गौरवको विषय हो । अबको यात्रामा नेपालको पूर्वाधार विकासमा देखिएका नीतिगत र प्रशासनिक उल्झनहरू हटाउन मेरो तर्फबाट विशेष पहल हुनेछ ।’
अधिकारीले आगामी दिनमा निफ्राले देशको आर्थिक रूपान्तरणका लागि थप ठूला र राष्ट्रिय गौरवका आयोजनाहरूमा लगानी भित्र्याउन सफल हुने विश्वास समेत व्यक्त गरेकी छन् ।


प्रतिक्रिया