हारको नैतिक जिम्मेवारी लिँदै गगनले छाडे पद

हारको नैतिक जिम्मेवारी लिँदै गगनले छाडे पद


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

यद्यपि पार्टीले यसलाई हालसम्म औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । भोलि (६ चैत) बस्ने गरी आह्वान गरिएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाको राजीनामाबारे विस्तृत छलफल हुने बताइएको छ । पार्टीका एक पदाधिकारीका अनुसार राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय लिने अधिकार केन्द्रीय कार्यसमितिलाई नै रहेको छ ।

‘अबकि बार, सय पार’ को महत्त्वाकाङ्क्षी नारासहित चुनावी मैदानमा उत्रिएको कांग्रेस यसपटक प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा खुम्चिएको छ । स्वयं सभापति थापा सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग फराकिलो मतान्तरले पराजित भएपछि पार्टीभित्र र बाहिर उनको नेतृत्वमाथि प्रश्न उठेको थियो ।

थापाले केही समयअघि सम्पन्न विशेष महाधिवेशनमार्फत देउवा समूहको असहमति र सर्वोच्चमा विचाराधीन मुद्दाका बीच नेतृत्व सम्हालेका थिए । विशेष महाधिवेशनले पार्टीमा रूपान्तरणको आशा जगाए पनि निर्वाचन परिणामले त्यसलाई जनस्तरसम्म पुर्‍याउन नसकेको विश्लेषण गरिएको छ ।

निर्वाचन लगत्तै बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा चुनावी परिणामको गम्भीर समीक्षा हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा उपसभापति शर्माले निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत गर्ने र आगामी जेठभित्रै १५ औँ नियमित महाधिवेशन सम्पन्न गर्ने विषयमा समेत छलफल हुने बुझिएको छ ।